काठमाडौं । चीनले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत बाँध बनाउने परियोजनाको निर्माण शुरु गरेको छ । यसले भारत र बंगलादेशमा चिन्ता बढाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
यार्लुंग चाङ्गपो नदीमा निर्माण हुने उक्त बाँधको शिलान्यास समारोहको अध्यक्षता प्रधानमन्त्री लि खछियांगले गर्नुभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तिब्बती पठार हुँदै बग्ने यो नदी भारतको अरुणाचल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ भने यसबीचमा यो सियांग, ब्रहृमपुत्र र जमुना नदीमा मिसिन्छ ।
यो बाँधबाट नदीको तल्लो तटीय क्षेत्रमा बस्ने हजारौं वासिन्दा प्रभावित हुनुका साथै यसको चारैतिरको वातावरण र स्थानीय तिब्बती नागरिक समेत प्रभावित हुने आंकलन गरिएकोछ । बेइजिंगले भने यस बाँधले स्वच्छ उर्जा उत्पादन, पर्यावरणीय संरक्षणका साथै स्थानीय समुन्नतिलाई प्रोत्साहित गर्ने बताएको छ । मोतुयो जलविद्युत केन्द्र नाम दिइएको यो परियोजनको लागत एक अर्ब ६७ करोड डलर रहेको छ । यो परियोजनाको निर्माण सम्पन्न भएपछि हाल विश्वको सबैभन्दा ठूलो बाँधका रुपमा रहेको चीनकै थ्री गर्जेजभन्दा पनि ठूलो बाँधका रुपमा स्थापित हुनेछ । यसले थ्री गर्जेज जलविद्युत परियोजनाबाटभन्दा तीन गुणा बढी विद्युत उत्पादन गर्ने बताइएको छ ।
यो नयाँ बाँध निर्माण भएपछि यसले चीनलाई यार्लुंग चाङ्गपो नदीको बहावलाई नियन्त्रण वा दिशाबदल्ने क्षमता दिने र यसबाट भारत र बंगलादेशको जलअर्थतन्त्रमा प्रभाव पार्ने आलोचकहरुको भनाई छ ।
यसै महिनाको शुरुमा भारतीय समाचार समिति पीटीआइलाई दिएको अन्तर्वार्तामा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले बाँध निर्माण सम्पन्न भएपछि सियांग र ब्रह्मपुत्र नदी उल्लेख्य रुपमा सुक्न भन्दै चिन्ता व्यक्त गर्नु भएको थियो ।