काठमाडौं । दक्षिण कोरियामा लगातारको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
विपद् व्यवस्थापन कार्यालयले बाढीमा परी १२ जना अझै बेपत्ता रहेकाले उद्धार जारी रहेको र मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ ।
बाढीबाट सबैभन्दा बढी दक्षिणी क्षेत्र प्रभावित भएको छ । सान्चेओङमा मात्रै ६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। बीबीसीकाअनुसार बाढीका कारण सयौं स्थानमा सडक क्षतिग्रस्त भएका छन् भने हजारौं भवन डुबानमा परेका छन्।
बुधबारदेखि सुरू भएको वर्षापछि दक्षिणी क्षेत्रमा झण्डै १० हजार मानिसहरू सुरक्षित स्थानमा सरेका छन् । ४१ हजारभन्दा बढी घरधुरीमा अस्थायी रूपमा विद्युत आपूर्ति बन्द भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दक्षिण र मध्य क्षेत्रमा वर्षा केही कम भए पनि राजधानी सियोल तथा उत्तरी क्षेत्रहरूमा आइतबार थप भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । राष्ट्रपति ली जे-म्युङले आइतबार प्रभावित क्षेत्रहरूलाई विशेष विपद् क्षेत्र घोषणा गर्न निर्देशन दिनुभएको छ र सरकारले उद्धार तथा पुनःस्थापना कार्य सुरू गरेको छ।