काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच बुधबार इस्तानबुलमा तेस्रो चरणको शान्ति वार्ता हुने घोषणा गर्नुभएको छ।
जेलेन्स्कीले युक्रेनी सुरक्षा परिषद् प्रमुख रुस्तेम उमेरोवसँग बन्दी आदानप्रदान र बैठकको तयारीबारे छलफल गरेको जानकारीसमेत दिनुभएको छ ।
रूसी समाचार संस्था-आरआईएले भने बिहीबार र शुक्रबार गरी वार्ता दुई दिनसम्म चल्ने जनाएको छ । दुवै पक्षवीच गत मे र जुन महिनामा भएका वार्तामा अस्थायी युद्धविराममा सहमति नभए पनि यु्द्धबन्दीहरू आदानप्रदानको विषयमा भने सहमति भएका थिए । सो सहमतिअनुरूप दुवै देशले सयौं युद्धबन्दीहरू साटासाट गरिसकेका छन् । रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने दुई पक्षबीच थुप्रै विरोधाभास रहेकाले तत्काल ठोस सहमति सम्भव नदेखिएको बताउनुभएकोछ ।
यसअघि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले गत साता रूस र युक्रेन बीच ५० दिनभित्र युद्धविराम नभए गम्भीर प्रतिबन्धको चेतावनी दिनुभएको थियो । यसबीच रूसले युक्रेनमाथि ड्रोन र क्षेप्यास्त्र आक्रमणलाई निरन्तरता दिँदैआएको छ ।