गाजामा जारी युद्ध तत्काल रोक्न बेलायतसहित २८ देशको आह्वान, इजरायलको सहायता वितरण मोडल खतरनाक भएको निष्कर्ष

श्रावण ६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा जारी युद्ध तत्काल रोक्न बेलायतसहित २८ देशको आह्वान, इजरायलको सहायता वितरण मोडल खतरनाक भएको निष्कर्ष

काठमाडौं । बेलायतसहित २८ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । संयुक्त वक्तव्य जारी गर्दै ती देशहरूले गाजामा सर्वसाधारणको पीडा नयाँ गहिराइमा पुगेको बताएका छन्।

वक्तव्यमा इजरायली सरकारको सहायता वितरण मोडेल खतरनाक रहेको र यसले अस्थिरता बढाउनुका साथै गाजावासीलाई मानवताको गरिमाबाट वञ्चित बनाउने उल्लेख छ । 

इजरायली गोलाबारीमा खाना पर्खिरहेको अवस्थामा १ सयभन्दा बढी प्यालेस्टिनी मारिएको गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, कुपोषणका कारण १९ जनाको ज्यान गएको बताइएको छ । 

बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्यूजील्यान्ड, स्विट्जरल्यान्ड लगायत देशका परराष्ट्र मन्त्रीहरुद्वारा जारी वक्तव्यमा गाजामा युद्ध रोक्न आह्वान गरिएको छ । 

वक्तव्यमा गाजाका २१ लाख जनसंख्या दक्षिण रफाहमा राख्ने इजरायली प्रस्तावलाई अस्वीकार्य भन्दै स्थायी बलपूर्वक स्थानान्तरण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन भएको बताइएको छ ।

संयुक्त वक्तव्यमा हमास, इजरायल र अन्तर्राष्ट्रिय समुदायलाई अविलम्ब, बिना सर्त र स्थायी युद्धविरामका लागि आह्वान गरिएको छ ।

इजरायली सेनाले पनि खाद्यान्न वितरणको क्रममा सर्वसाधारणमा क्षति पुगेका केही घटना भएको स्वीकार गर्दै त्यस्ता घटना कम गर्न प्रयास भइरहेको जनाएको छ।