सिरियाको हिंसाग्रस्त सुवैदामा युद्धविराम घोषणा, सुरक्षा बल परिचालन

श्रावण ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
सिरियाको हिंसाग्रस्त सुवैदामा युद्धविराम घोषणा, सुरक्षा बल परिचालन

काठमाडौं । सिरियाली सुरक्षाकर्मीहरू द्वन्द्वग्रस्त दक्षिणी प्रान्त सुवैदामा तैनाथ हुन थालेका छन् । अमेरिकाले इजरायल र सिरियाबीच युद्धविराममा सहमति भएको घोषणा गरेलगत्तै अशान्त दक्षिणी क्षेत्रमा सुरक्षा बल तैनाथ हुन थालेका हुन् । 

सिरियाको गृह मन्त्रालयका प्रवक्ता नुरेद्दिन अल-बाबाले टेलिग्राममा विज्ञप्ति जारी गर्दै नागरिकको सुरक्षा र अराजकता अन्त्य गर्ने उद्देश्यले सुवैदामा सुरक्षा बल तैनाथ हुन थालेको बताउनुभएको हो । सिरिया सरकारले पनि शनिबार बिहानै युद्धविराम घोषणा गरेको छ । राष्ट्रपति अहमद अल-शराअले टेलिभिजनमार्फत सम्बोधन गर्दै सिरियाली जनताको रगत बग्न नदिन र मुलुकको भौगोलिक एकता र जनताको सुरक्षाका लागि यो निर्णय गरिएको बताउनुभएको छ । 

सुवैदामा भइरहेको हिंसा अन्त्य गर्न र देशमा सुरक्षा बहालीका लागि अन्तर्राष्ट्रिय दबाब आएको पनि उहाँको भनाइ छ । राष्ट्रपति अल-शराअले इजरायलको आक्रमणपछि सु्वैदामा पुनः हिंसा भड्किएको आरोप लगाउँदै सिरियालाई दिएको समर्थनका लागि अमेरिकालाई धन्यवाद पनि दिनुभएको छ । सिरियाको सुवैदामा ड्रुज तथा बेदुईन सशस्त्र समूह र सरकारी सेनाबीचको भिडन्तमा ७ सयभन्दा बढी मानिसको ज्यान गएको छ । 

इजरायलले केही दिनअघि अल्पसंख्यक ड्रुज समुदायको रक्षाका लागि भन्दै दमास्कसस्थित रक्षा मन्त्रालयमा आक्रमण गरेको थियो । यसैबीच, संयुक्त राष्ट्रसंघले पनि सुवैदामा भएको हिंसाको स्वतन्त्र छानबिन गर्न माग गरेको छ ।