काठमाडौं । आज घण्टाकर्ण अर्थात गठामुगःपर्व । राक्षसी प्रवृतिको अन्त्य र शान्तिको कामना गर्दै नेवार समुदायले घण्टाकर्ण पर्व मनाएका छन् ।
काठमाडौं उपत्यकाका दोबाटो र चौबाटोमा हरियो नर्कट, निगालो र छ्वाली मिलाएर घण्टाकर्ण आकृति बनाएर दिनभर प्रदर्शन गर्ने चलन छ । प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाउने यस पर्वलाई गठामुगः भनिन्छ । राक्षसी प्रवृति भएको घण्टाकर्णको अन्त्यष्टी गर्दै यो पर्व मनाउने गरिन्छ ।
नाङ्लोमा गठामुगःको मुखाकृति चित्र, हाँडीको टाउको, कानको दुवैतिर घण्टा झुन्ड्याइएको हुन्छ । घण्टाकर्णलाई जगात दे अर्थात् केही कर दे भन्दै बटुवासँग टोलैपिच्छे रकम माग्ने चलन छ ।
साँझपख बाजागाजाका साथ छ्वालीकै चिराग अर्थात् राँको बालेर खोला किनारमा घण्टाकर्णलाई अन्त्येष्टि गर्ने चलन छ । यसरी घण्टाकर्ण पर्व मनाउँदा राक्षसी प्रवृत्तिको अन्त्य, भूत-प्रेत आदिले छुन नसक्ने र रोगव्याधि नलाग्ने जनविश्वास छ ।