काठमाडौं । भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी-केआईआईटीमा दुई नेपाली विद्यार्थीले आत्महत्या गरेको घटनामा गठित छानबिन समितिले उक्त घटनामा विश्वविद्यालयबाट गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको छ ।
विश्वविद्यालय अनुदान आयोगद्वारा गठित छानबिन समितिले विश्वविद्यालयको गैरकानुनी गतिविधि र लापरवाहीका कारण घटना भएको निष्कर्ष निकालेको हो । छानबिन समितिले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यौन दुर्व्यवहारको घटनाका उजुरीमा कानुनबिपरीत मिलापत्र गराएको र छात्रावासको अवस्था दयनीय रहेको र बस्न योग्य नरहेको उल्लेख गरिएको छ ।
यस्तै अन्तराष्ट्रिय छात्राहरूको सांस्कृतिक सन्दर्भअनुसार ध्यान नदिईएको, विश्वविद्यालयले आफ्नो प्रतिष्ठा बचाउन बिद्यार्थीमाथि प्रहरी दबाब वा शारीरिक प्रहार गरेको र विश्वविद्यालयले आफ्नो छवि प्राथमिकतामा राख्दै प्रचलित नियम, कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको ख्याल नगरेको प्रतिवेदनले औंल्याएको छ ।
विश्वविद्यालय प्रशासनले दुई पटकसम्म उजुरी दिँदा पनि ध्यान नदिएकोजस्ता लापरवाहीका कारण घटना भएको छानबिन समितिको निष्कर्ष छ । गत फागुन ४ गते केआइआइटीमा तेस्रो वर्षमा अध्ययनरत छात्रा प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिईन् ।
त्यसको दुई महिनापछि वैशाख १८ गते सोही विश्वविद्यालयको कलेजमा बीटेक पहिलो वर्षमा अध्ययनरत छात्रा प्रिशा शाह मृत भेटिएकी थिईन् ।