अमेरिकी संसद्द्वारा विदेशी सहायता र सार्वजनिक प्रसारण संस्थालाई दिइने ९ अर्ब डलर कटौती सम्बन्धी विधेयक पारित

राष्ट्रपति ट्रम्पको हस्ताक्षर लगत्तै कानुन बन्ने
श्रावण २, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी संसद्द्वारा विदेशी सहायता र सार्वजनिक प्रसारण संस्थालाई दिइने ९ अर्ब डलर कटौती सम्बन्धी विधेयक पारित

काठमाडौं । अमेरिकी संसद्ले विदेशी सहायता र सार्वजनिक प्रसारण संस्थालाई दिइने सहायतामा ९ अर्ब डलर कटौती गर्नेसम्बन्धी विधेयक पारित गरेको छ ।

'अ बिग ब्युटिफूल बील' पास हुनु राष्ट्रपति डनल्ड ट्रम्पका लागि यो अर्को जित हो । यो विधेयक ट्रम्पको खर्च कटौतिसम्बन्धी सरकारी कार्य दक्षता विभाग डोजको प्रयासअन्तर्गतको एक अंश हो । 

राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयकले कानुनको रूप लिनेछ । यो विधेयकले यसअघिका कानुनले वैदेशिक सहायता कार्यक्रमका लागि खर्च गर्न अनुमोदन गरेको करिब ८ अर्ब डलर र एनपीआर र पीबीएस जस्ता सार्वजनिक प्रसारण संस्थालाई आर्थिक सहायता प्रदान गर्ने संस्था ‘सार्वजनिक प्रसारण निगम’लाई दिइने १ अर्ब १० करोड डलर गरी कुल ९ अर्ब डलर कटौति गर्नेछ । 

डोजले संघीय सरकारको २ सय अर्ब डलर खर्च बचाएको दाबी गरिरहँदा यो ९ अर्ब डलर त्यसको एउटा सानो अंश मात्र हो । यसले डोज प्रेरित ९ अर्ब डलरको खर्च कटौतिलाई वैधानिकता भने प्रदान गरेको छ ।

संसद्को माथिल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा भएको मतदानमा विधेयकको पक्षमा २१६ मत परेको थियो भने विपक्षमा २१३ मत परेको थियो । ट्रम्पको दल रिपब्लिकन पार्टीका दुई सांसद माइक टर्नर र ब्रिआन फिट्ज प्याट्रिकले विपक्षमा मतदान गरेका थिए ।

यसअघि बिहीबार संसद्को माथिल्लो सदन सिनेटले ४८ का विरूद्ध ५१ मतले विधेयक पारित गरेको थियो । सिनेटमा पनि दुई जना रिपब्लिकन सिनेटर सुसान कोलिन्स र लिजा मुर्कोवस्कीले डेमोक्र्याट्सलाई साथ दिँदै विधेयकको विपक्षमा मतदान गरेका थिए ।