पाकिस्तानको पन्जाव प्रान्तमा भारी वर्षाका कारण ६३ को मृत्यु

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानको पन्जाव प्रान्तमा भारी वर्षाका कारण ६३ को मृत्यु

काठमाडौं । पाकिस्तानको पन्जाब प्रान्तमा आएको भारी वर्षाका कारण पछिल्लो २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ भने २९० जना घाइते भएका छन्। राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश पीडितहरू भत्किएका भवनहरूले च्यापिएर मरेका हुन् भने बाँकीले डुबेर वा करेन्ट लागेर ज्यान गुमाएका छन्।

राजधानी इस्लामावाद नजिकैको रावलपिन्डी सहरका अधिकारीहरूले मानिसहरूलाई घरभित्रै रहनका लागि सार्वजनिक बिदा घोषणा गरेका छन्। साथै, सहर भएर बग्ने नदी नजिकै बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। मनसुन सुरु भएदेखि अर्थात् जुनको अन्त्यदेखि नै पाकिस्तनामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ८० पुगेको छ। यसमध्ये आधाभन्दा बढी बालबालिका रहेका छन् । बाढीका कारण पन्जाबभरिका धेरै एक्सप्रेसवेहरू बन्द भएका छन् भने दर्जनौं उडानहरू रद्द वा ढिलो भएका छन्।

पन्जाव प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले धेरै क्षेत्रमा आपतकाल घोषणा गरिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै सरकारी संस्थाहरूले पूर्ण प्रयासका साथ काम गरिरहेका र स्थानीय बासिन्दाहरूलाई सुरक्षा दिशानिर्देशहरू पालना गर्न आग्रह गर्नुभएको छ । पाकिस्तानमा पछिल्लो एक दिनमा ४ सय मिलिलिटर वर्षा भएको छ । पन्जाबका अधिकारीहरूले सप्ताहन्तभरि थप वर्षा र बाढी आउने चेतावनी दिएका छन्। प्रान्तभरि हजारौँ उद्धारकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ। करिब २५ करोड जनसङ्ख्या भएको पाकिस्तान जलवायु परिवर्तनको जोखिममा रहेका देशहरूमध्ये एक हो। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.