अमेरिका आयात हुने तामामा अगष्ट १ देखि ५० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

ब्राजिललाई १० प्रतिशतबाट बढाएर ५० प्रतिशत कर लगाउने चेतावनी
असार २६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिका आयात हुने तामामा अगष्ट १ देखि ५० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिका आयात हुने तामामा आगामी अगष्ट १ देखि ५० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको छ । साथै उहाँले ब्राजिलबाट आयात हुने वस्तुमा पनि ५० प्रतिशत कर लगाउने चेतावनी समेत दिनुभएको छ ।

आफनो सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोष्ट गर्दै ट्रम्पले व्यापक राष्ट्रिय सुरक्षा मुल्यांकनपछि अगष्ट १ तारिखदेखि लागु हुने गरी अमेरिका आयात हुने तामामा ५० प्रतिशत आयात कर लगाउने घोषण गर्दछु भन्नु भएको छ । 

अगष्ट १ देखि नै लागु हुने गरी ब्राजिलबाट आयात हुने वस्तुमाथिको आयात कर १० प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने चेतावनी जारी गरेको केही घण्टापछि ट्रम्पले तामामाथिको नयाँ आयात करको घोषणा गर्नुभएको हो । 

ब्राजिलका राष्ट्रपति लुला डि सिल्भालाई पठाएको पत्रमा उहाँले आयात कर १० प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने चेतावनी दिनुभएको हो भने उहाँले उक्त पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ । 

उक्त पत्रमा उहाँले ब्राजिलका निवर्तमान राष्ट्रपति जेयर बोल्सोनारोविरूद्ध चलाइएको मुद्दालाई अन्यायपूर्ण उत्पिडन भन्दै आक्रोश व्यक्त गर्नूभएको छ । बोल्सोनारोविरूद्ध २०२२मा भएको राष्ट्रपतिय निर्वाचनको परिणाम उल्ट्याउने षडयन्त्रमा संलग्न रहेको आरोपमा मुद्दा चलिरहेको छ ।

पत्रमा ट्रम्पले ब्राजिलले स्वतन्त्र निर्वाचन, अमेरिकीहरूको अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण तथा अमेरिकी सामाजिक सञ्जाल प्लेटर्फमहरूमाथि गोप्य र गैरकानूनी सेन्सरसीप आदेश दिएको जस्ता आरोप लगाउनु भएकोछ ।

प्रतिउत्तरमा ब्राजिलका राष्ट्रपति लुलाले एक विज्ञप्ती जारी गर्दै आयात कर बृद्धि गर्ने कुनै पनि एकपक्षीय कदमको ब्राजिलको कानूनअनुसार जवाफ दिइने दृढता व्यक्त गर्नुभएको छ ।