काठमाडौं । टेस्ला र स्पेस एक्सका मालिक इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन भएको घोषणा गर्नुभएको छ ।
उहाँले 'अमेरिका पार्टी' गठन भएको घोषणा आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी दिनुभएको हो । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले कर र खर्च कटौतीसम्बन्धी कानुन प्रमाणीकरण गरेको भोलिपल्ट विश्वकै धनाढ्य मस्कले अमेरिकामा नयाँ पार्टी गठनको घोषणा गर्नुभएको हो ।
उहाँले आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पुर्याउने बताउनुभएको छ । मस्कले पार्टीको संरचनाबारे विस्तृत केही भन्नु भएको छैन् ।
मस्ककाअनुसार, सरकारको खर्च र भ्रष्टाचारका मामिलामा अमेरिका एकदलीय शासनजस्तो भएकोले नयाँ पार्टीले नागरिकलाई स्वतन्त्रता फिर्ता दिलाउने दाबी गर्नुभयो।
यो घोषणा मस्क र राष्ट्रपति ट्रम्पबीचको सार्वजनिक र विवादपछि आएको हो । २०२४ को निर्वाचनमा मस्क ट्रम्पका प्रमुख समर्थक हुनुहुन्थ्यो र ट्रम्प प्रशासनमा सरकारको खर्च कटौती गर्ने विभागको नेतृत्वसमेत उहाँले सम्हाल्नु भएको थियो । तर गत मे मा मस्कले राजीनामा दिनु भएको थियो ।
हालसम्म, अमेरिका पार्टी अमेरिकी निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको पुष्टि भएको छैन् र पार्टीको नेतृत्व र संरचनाबारे विस्तृत विवरण आउन बाँकि छ।