काठमाडौं । भारतमा अन्तर्राष्ट्रिय समाचार समिति रोयटर्सको मुख्य एक्स अकाउन्ट रोक्का गरिएको छ । रोयटर्सको एक्स ह्यान्डल क्लिक गर्दा कानूनी मागको जवाफमा भारतमा अकाउन्ट ‘विदहेल्ड’ गरिएको सूचना देखिन्छ ।
रोयटर्सका दुई वटा ह्यान्डल रोयटर्स मेन र रोयटर्स वर्ल्ड ब्लक भएको भारतीय समाचारमाध्यमले जनाएका छन् । रोयटर्सका अन्य एक्स अकाउन्ट- रोयटर्स टेक न्यूज, रोयटर्स फ्याक्ट चेक, रोयटर्स एसिया र रोयटर्स चाइना भने चलिरहेका छन् । एक्सका अनुसार अदालती आदेश वा स्थानीय कानुनको आधारमा गरिएको मागको अवस्थामा कुनै अकाउन्ट वा पोस्ट ‘विदहेल्ड’ गरिन्छ ।
केन्द्र सरकारको स्रोतले भने यस सम्बन्धमा एक्सलाई कुनै ताजा सूचना नदिएको तर पाकिस्तानविरुद्धको सैन्य कारबाही अपरेशन सिन्दूरका बेला गरिएको अनुरोधलाई एक्सले हाल आएर कार्यान्वयन गरेको हुन सक्ने बताएको भारतीय समाचारमाध्यमले जनाएका छन् ।
अपरेशन सिन्दूरका बेला मे ७ मा रोयटर्ससहित सयौं अन्य अकाउन्ट ब्लक गर्न एक्सलाई आग्रह गरिएको स्रोतलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।
बेलायतमा मुख्यालय रहेको रोयटर्सले भने यस विषयमा कुनै सूचना जारी गरिनसकेको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।