गाजामा पछिल्लो पटक इजरायल गरेकाे बमबारीमा ७८ प्यालेस्टिनीको मृत्यु

असार २२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा पछिल्लो पटक इजरायल गरेकाे बमबारीमा ७८ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजामा पछिल्लो पटक इजरायली बमबारीमा ७८ जना प्यालेस्टिनीको ज्यान गएको छ । त्यसमध्ये तीन जना बालबालिकासहित कम्तीमा ९ जना राफाहको उत्तरमा रहेको गाजा ह्युमानिटेरियन फाउन्डेसन सहायता केन्द्र नजिकै मारिएको बताइएको छ ।

फाउन्डेसनका वितरण केन्द्रहरूमा इजरायली आक्रमण जारी छ । विशेष गरी राहतको पर्खाइमा रहेका सर्वसाधारणलाई लक्षित गरी आक्रमण हुँदै आएको छ । राहत वितरण केन्द्रहरूमा भएको आक्रमणमा अहिलेसम्म ७ सय ४३ जनाको मृत्यु भइसकेको छ । घाइतेको संख्या बढेसँगै अस्पतालमा उपचार गर्नेको चाप बढेको छ र सबैले उपचार पाइरहेका छैनन् ।

यसबीच, हमासले गाजाका लागि अत्यावश्यक मानवीय सहायता सुनिश्चित गर्न ६० दिनको युद्धविराम प्रस्तावमा केही सर्त परिवर्तन गरेर तुरून्तै वार्ता सुरू गर्न तयार रहेको बताएको छ। तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले प्रस्तावमा गरेका परिवर्तनहरू स्वीकार्य नहुने बताउनुभएकाे छ ।

हमासको सहयोगी समूह इस्लामिक जिहादले पनि युद्धविरामका लागि वार्ताको समर्थन गरेको छ, तर यस प्रक्रियाबाट स्थायी युद्धविराम सुनिश्चित हुने 'ग्यारेन्टी'को माग गरेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायलको गाजामाथिको युद्धमा अहिलेसम्म कम्तीमा ५७ हजार ३ सय ३८ जना मानिसको मृत्यु भइसकेको छ र १ लाख ३५ हजार ९ सय ५७ जना घाइते भएका छन्। 

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा करिब १ हजार १ सय ३९ जना मारिएका थिए र २ सय भन्दा बढीलाई बन्धक बनाइएको थियो।