अमेरिकामा कर कटौती र खर्चसम्बन्धी विधेयक संसद्‍बाट पारित

१० वर्षमा ३३ खर्ब डलर संघीय घाटा थप्ने र लाखौँ मानिस स्वास्थ्य बिमा सेवाबाट बञ्चित हुनसक्ने अनुमान
असार २०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकामा कर कटौती र खर्चसम्बन्धी विधेयक संसद्‍बाट पारित

काठमाडौं । अमेरिकी संसद्ले राष्ट्रपति डनल्ड ट्रम्पको व्यापक कर कटौती र खर्चसम्बन्धी विधेयक 'वन बिग व्युटिफुल बिल' पारित गरेको छ । यो राष्ट्रपति ट्रम्प र उहाँको घरेलु नीतिका लागि कडा संघर्षपछिको महत्वपूर्ण विजय मानिएको छ ।

संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले निकै कठोर सत्रपछि स्थानीय समयअनुसार बिहीबार दिउँसो २ सय १४ का विरूद्ध २ सय १८ अर्थात् जम्मा ४ मतको अन्तरले विधेयक पारित गरेको हो । 

ट्रम्पको दल रिपब्लिकनका दुई सांसदले उक्त विधेयकको विपक्षमा मतदान गरेका थिए । संसद्को माथिल्लो सदन सिनेटले मंगलबार एक मतको अन्तरले उक्त विधेयक पारित गरेको थियो । सिनेटमा भएको मतदानमा समेत तीन जना रिपब्लिकन सिनेटरले विधेयकको विपक्षमा मतदान गरेका थिए ।

दुवै सदनमा रिपब्लिकनको बहुमत रहेको संसद्लाई ट्रम्पले उक्त विधेयक पारित गर्न जुलाई ४ सम्मको समयसीमा दिइएको थियो । संसदीय बजेट कार्यालयले यो विधेयकले आगामी १० वर्षभित्रमा ३३ खर्ब डलर संघीय घाटा थप्ने र दशौं लाख मानिस स्वास्थ्य बिमा सेवाबाट वञ्चित हुन सक्ने अनुमान गरेको छ । यद्यपि हृवाइट हाउसले भने यो पूर्वानुमानलाई अस्वीकार गर्दै आएको छ ।

विधेयकले खाद्यान्न सुविधा र स्वास्थ्य सेवामा खर्च कटौती गर्नुका साथै स्वच्छ उर्जा परियोजनाहरूलाई दिइँदै आइएको कर छुटको व्यवस्था हटाएर संघीय खर्चमा बचत गर्दछ । 

यसबाट १० वर्षमा संघीय सरकारको करिब १२ खर्ब डलर बचत हुने गर्ने आंकलन गरिएको छ । यो विधेयकले ट्रम्पले चुनावी अभियानका क्रममा गरेका दुई प्रमुख वाचाहरू-आफ्नो पहिलो कार्यकाल अर्थात २०१७ को कर कटौतीलाई स्थायित्व दिने तथा टिप्स, ओभर टाइम र सामाजिक सुरक्षा प्राप्तिकर्ताहरूमाथिको कर हटाउने वाचालाई पुरा गर्दछ । यसो गर्दा संघीय सरकारले आगामी १० वर्षमा करीब ४५ खर्ब डलर राजश्व गुमाउने अनुमान गरिएको छ ।

यो विधेयकमा सीमासुरक्षा, आप्रवासी नियन्त्रण केन्द्र र अवैध आप्रवासन नियन्त्रण अधिकारीहरूका लागि करीब डेढ खर्ब ५० अर्ब डलर छुट्याइएको छ । त्यस्तै ट्रम्पको महत्वाकांक्षी गोल्ड डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अन्य सैन्य खर्चका लागि पनि डेढ खर्ब ५० अर्ब डलर छुट्याइएको छ । विपक्षी डेमोक्र्याटहरूले धनीलाई कर छुट दिएर लाखौं अमेरिकीहरूले पाउँदै आएको खाद्य अनुदान र स्वास्थ्य सेवा खोसेको भन्दै विधेयकको विरोध गरेका थिए ।

डेमोक्र्याटिक पार्टीका संसदीय दलका नेता हकीम जेफ्रीजले संसदीय इतिहासकै सबैभन्दा लामो अर्थात् ८ घण्टा ४५ मिनेट सम्बोधन गर्नुभएको थियो । ट्रम्पले ४ जुलाई अर्थात् अमेरिकी स्वतन्त्रता दिवस समारोहमा स्थानीय समयअनुसार अपरान्ह ५ बजे सो विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।