युद्ध अन्त्यसम्बन्धी अमेरिकी प्रस्ताव अध्ययन गर्दै हमास

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
युद्ध अन्त्यसम्बन्धी अमेरिकी प्रस्ताव अध्ययन गर्दै हमास

एजेन्सी । गाजा क्षेत्रमा जारी हिंसा र मानवीय संकटका बीच हमासले इजरायलसँगको युद्ध अन्त्य गर्न अमेरिकी समर्थन प्राप्त एक नयाँ प्रस्तावको अध्ययन गरिरहेको जनाएको छ। हमासले यस सहमति पश्चात युद्धको पूर्ण अन्त्य हुनुपर्ने अडान लिएको छ।

हिजो मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन इजरायल "आवश्यक शर्तहरू" मा सहमत भएको तर हमासले ती शर्तहरू स्वीकार गर्छ कि गर्दैन भन्ने स्पष्ट भइनसकेको बताउनु भएको थियो। यसैबीच, इजरायली सेनाले गाजाका विभिन्न भागहरूमा आक्रमण तीव्र बनाएको छ। 

पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा १११ प्यालेस्टिनी नागरिक मारिएक छन् । मारिनेहरूमा सहायता लिन आएका र पाल टाँगेर शरण लिइरहेका विस्थापितहरू रहेका छन्। स्थानीय स्रोतहरूका अनुसार आक्रमणहरू त्यस्ता स्थानमा केन्द्रित छन्, जहाँ नागरिकहरूले आफूलाई सुरक्षित ठानेका थिए। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर २०२३ देखि सुरु भएको युद्धमा हालसम्म ५७,०१२ प्यालेस्टिनी मारिएका छन् भने १,३४,५९२ जना घाइते भएका छन्। गाजाको सहायता वितरण केन्द्रहरूमा केहि हप्ता यता भयाबह दृश्यहरु देखिएका छन् । अमेरिकी तथा इजरायली समर्थन प्राप्त गाजा ह्युमानिटेरियन फाउन्डेसनका वितरण केन्द्रहरूसँग खाद्यान्नको पर्खाइमा रहेकै अवस्थामा पछिल्ला पाँच हप्तामा ६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार ती क्षेत्रहरूमा सहायता लिन जम्मा भएका भीडहरू आक्रमणको लक्ष्य बन्ने गरेका छन्, वा भगदडका कारण मानिसको ज्यान जाने गरेको छ। 

उत्तरी गाजास्थित सबैभन्दा ठूलो स्वास्थ्य संस्था अल-शिफा अस्पतालले इन्धनको चरम अभावका कारण सयौं बिरामी मृत्युसँग जुधिरहेक‍ो जनाएको छ। वाफा समाचार एजेन्सीका अनुसार, इजरायली फौजले कब्जामा रहेको प्यालेसटेनी भुमि वेस्ट बैंकमा छापा मारेर १४ प्यालेस्टिनीलाई पक्राउ गरेको छ। त्यहाँ इजरायली सेनाको आदेश अनुसार १०० भन्दा बढी घर भत्काइँदा करिब ४०० परिवार बासविहीन हुने खतरा छ।

 इजरायलका प्रधानमन्त्री नेतन्याहु नेतृत्वको सत्तारूढ लिकुद पार्टीले आउँदो जुलाई २७ मा संसदको ग्रीष्म अवकाश सुरु हुनु अघि कब्जामा रहेको वेस्ट बैंकलाई औपचारिक रूपमा इजरायलमा गाभ्ने प्रक्रिया अघि बढाउने प्रयास गरिरहेको छ। मानवअधिकार संस्था र संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई नागरिक सुरक्षाको ग्यारेन्टी दिन र मानवीय सहायता सुनिश्चित गर्न आग्रह गरिरहेका छन्। तर वार्ता अझै प्रगति हुन नसकेको र युद्ध जारी रहेको अवस्थामा गाजा शोक, आशंका र विनाशको भूमिमा परिणत भइरहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.