एसीसी पुरुष अन्डर–१६ इस्ट जोन कपको उपाधि जित्ने नेपालको लक्ष्य

असार २०, २०८२ |खेल ब्युरो
एसीसी पुरुष अन्डर–१६ इस्ट जोन कपको उपाधि जित्ने नेपालको लक्ष्य

एसीसी पुरुष अन्डर सिक्सटिन इस्ट जोन कपको फाइनलमा शनिवार नेपाल र सिङ्गापुरका युवा टोली प्रतिस्पर्धा गर्दै छन् । साबिक विजेता नेपाल उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रने छ ।

सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको थियो । मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले १२ औं ओभरमा केवल १ विकेट गुमाएर पूरा गरेको थियो ।

यता सिङ्गापुरले हङकङलाई ४ विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको थियो । दुवै टोली समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश गरेका थिए । नेपाल शतप्रतिशत नतिजासहित समूह विजेता बनेको थियो । समूह चरणमा सिङ्गापुर नेपालसँग ६ विकेटले पराजित भएको थियो । उपाधि भिडन्तमा सिङ्गापुर सोही हारको बदला लिने लक्ष्यमा हुनेछ ।

विपिन शर्माको कप्तानीमा रहेको नेपालले प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेको छ । प्रत्येक खेलमा फरक फरक खेलाडी नायक बनेका छन् ।

रौनक श्रीवास्तवले ५ खेलको ३ इनिङ्समा २ सय ९६ रन प्रहार गरेका छन् । उनी जारी प्रतियोगिताका सर्वाधिक रनकर्ता समेत हुन् । उनले १ शतक र १ अर्धशतक प्रहार गरेका छन् । यस्तै प्रशिद्ध जैशीले २ सय २९ रन बनाएका छन् भने परिमार्जन यादव, शिवांश बजगाईं र जोय थापाले पनि शानदार ब्याटिङ गरेका छन् ।

बलिङतर्फ विपिन १६ विकेट लिँदै शीर्ष स्थानमा छन् । शुभम खनाल, अभय यादव र सचिन भट्टले समेत प्रभावशाली बलिङ गरेका छन् ।

यस्तै २ सय २४ रन बनाएका सिङ्गापुरका आहान वुथन्दम र १४ विकेट लिएका युभन पाण्डे दुवै सूचीमा दोस्रो स्थानमा छन् । मलेसियाको बाङ्गीस्थित वाई-एस-डी यूकेएम ओभलमा खेल नेपाली समय अनुसार बिहान पौने ८ बजेबाट सुरु हुनेछ । सोही समयमा मलेसिया र हङकङ तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।