आफ्नो उत्तराधिकारी अरू कसैले चयन गर्न नसक्ने दलाई लामाको भनाइ, चीन भन्छ- लामाको उत्तराधिकारी हामी चयन गर्छौं

आफ्नै फाउण्डेशनले चुन्ने प्रष्टोक्ति /
असार १८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
आफ्नो उत्तराधिकारी अरू कसैले चयन गर्न नसक्ने दलाई लामाको भनाइ, चीन भन्छ- लामाको उत्तराधिकारी हामी चयन गर्छौं

काठमाडौं । भारतमा निर्वासित जिवन बिताइरहनु भएका तिब्बती आध्यात्मिक नेता दलाई लामाले आफनो मृत्युपछि पनि धर्मगुरू चयन गर्ने परम्परा जारी रहने पुष्टि गर्नु भएकोछ । 

तिब्बती परम्पराअनुसार दलाई लामाको पुनर्जन्म हुने विश्वास गरिन्छ भने पुनर्जन्म भएका उक्त बालकको खोजी र पहिचान धर्मगुरूहरूले गर्ने गर्दछन् । भविष्यको दलाई लामालाई चिन्ने अधिकार केवल आफूले स्थापना गरेको गादेन फोडरांग फाउण्डेशनसँग मात्र हुने र यसमा हस्तक्षेप गर्ने अधिकार कसैलाई नहुने कुरा उहाँले स्पष्ट पार्नुभएकोछ । 

आगामी आइतबार ९० वर्ष पुग्न लाग्नु भएका दलाई लामाले बुधबार एक भिडियो सन्देश जारी गर्दै ६ सय वर्ष पुरानो दलाई लामाको संस्थाले निरन्तरता पाउने कुरामा विश्वभरि छरिएर रहेका बौद्ध धर्मावलम्बीहरूलाई आश्वस्त पार्नुभएको हो । 

वर्तमान दलाई लामा १४औं दलाई लामा हुनुहुन्छ भने उहाँको वास्तविक नाम तेन्जिन ग्यात्सो हो । सन् १९५१ मा तिब्बतलाई चीनले गाभेपछि सन् १९५९ मा भारत पलायन हुनु भएका दलाई लामा हिमाञ्चल प्रदेशको धर्मशाला शहरमा बस्दै आउनु भएको छ । ९०औं जन्मदिनको सन्दर्भमा दलाई लामाको घोषणालाई सुन्न धर्मशालामा सयौं अनुयायीहरू भेला भएका थिए ।

उहाँको यस्तो घोषणाको प्रतिकार गर्दै चीन सरकारले दलाई लामाको उत्तराधिकारी आफूले मात्र चयन गर्ने र त्यो केन्द्रीय सरकारले अनुमोदन गर्नुपर्ने बताएको छ ।

चीनले दलाई लामालाई पृथकतावादी मान्दै आएको छ भने उहाँलाई तिब्बतीहरूको प्रतिनिधित्व गर्ने अधिकार नभएको दाबी समेत गर्दै आएको छ ।