आईएईए प्रमुख राफेलको दाबी : युरेनियम संवर्द्धन कार्य पुनः सुरु गर्न सक्ने क्षमता इरानसँग छ

असार १७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
आईएईए प्रमुख राफेलको दाबी : युरेनियम संवर्द्धन कार्य पुनः सुरु गर्न सक्ने क्षमता इरानसँग छ

परमाणु ऊर्जा निगरानीसम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था-आईएईएका प्रमुख राफेल ग्रोसीले सम्भावित परमाणु बम निर्माणका लागि केही महिनाभित्रै युरेनियम संवर्द्धन कार्य पुनः सुरु गर्नसक्ने क्षमता इरानसँग भएको बताउनुभएको छ ।

सीबीएस न्यूजसँग कुरा गर्दै ग्रोसीले अमेरिकाले गत सप्ताहन्तमा इरानका तीन वटा परमाणु केन्द्रमा गरेको आक्रमणले त्यहाँ गम्भीर क्षति पुर्‍याए पनि पूर्ण क्षति भने नभएको बताउनुभएको हो । ग्रोसीले इरानसँग अझै औद्योगिक र प्राविधिक क्षमता रहेको र उनीहरूले चाहे यूरेनियम संवर्द्धनको काम पुन: सुरु गर्नसक्ने बताउनुभएको छ । अमेरिकी आक्रमणबाट इरानका परमाणु केन्द्र पूर्णरूपमा ध्वस्त भएको राष्ट्रपति डनल्ड ट्रम्पको दाबीसँग बाझिने गरी ग्रोसीको यस्तो भनाइ आएको हो । इरानमा अब केही पनि छैन भनेर दाबी गर्न नसक्ने ग्रोसीको भनाइ छ । इरानको परमाणु क्षमताले अझै निरन्तरता पाउनसक्ने धारणा अघि सार्ने आईएईए पहिलो निकाय भने होइन । 

यसअघि अमेरिकी रक्षा मन्त्रालयको गुप्तचर निकायले पनि अमेरिकी आक्रमणबाट इरानको परमाणु कार्यक्रम केही महिनाका लागि मात्रै पछाडि धकेलिएको आकलन गरेको थियो । यद्यपि ट्रम्पले त्यसप्रति आपत्ति जनाउनुभएको थियो भने सीआईएले पनि इरानको परमाणु केन्द्रमा ठूलो क्षति पुगेको बताएको थियो । यस्तै रक्षामन्त्री पीट हेगसेथले पनि इरानको परमाणु केन्द्रमाथि गरिएको आक्रमण ऐतिहासिकरूपमा सफल भएको दाबी गर्नुभएको थियो ।

इरान परमाणु हतियार निर्माणको नजिक पुगेको दाबीका साथ इजरायलले उसको परमाणु र सैन्य ठेगानामा जुन १३ मा आक्रमण गरेपछि दुवैबीच युद्ध सुरु भएको थियो । युद्ध सुरु भएको दशौं दिन इरानका तीन परमाणु केन्द्रहरू फोर्दो, नातान्ज र इश्फाहानमा शक्तिशाली बम प्रहार गर्दै अमेरिका पनि यो आक्रमणमा प्रत्यक्ष संलग्न भएको थियो । त्यसको दुई दिनपछि नै इजरायल र इरानबीच युद्धविराम भएको थियो ।

इरानले भने अमेरिकी आक्रमणबाट उसको परमाणु केन्द्रहरूमा भएको क्षतिबारे परस्पर बाझिने सन्देश सार्वजनिक गर्दै आएकोछ । सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले आक्रमणबाट अमेरिकाले खासै उपलब्धि हासिल नगरेको दाबी गर्नुभएको छ भने विदेशमन्त्री अब्बास अराघ्चीले परमाणु केन्द्रमा अत्यधिक र गम्भीर क्षति पुगेको बताउनुभएको छ ।

यसैबीच इरानले इजरायलले जुन २३ मा तेहरानस्थित एभिन जेलमा गरेको हवाई आक्रमणमा ७१ जना मारिएको जनाएको छ । राजनीतिक बन्दीहरू राखिने एभिन जेल कुख्यात मानिन्छ ।