रामेछाप । डिभिजन वन कार्यालय रामेछापले चालु आर्थिक वर्ष २०८१/०८२ मा फलफूल खेती प्रवर्द्धन गर्ने उद्देश्यले फलफूलका विभिन्न जातका बिरूवाहरू निःशुल्क वितरण गर्न थालेको छ।
वन कार्यालयले आवश्यकताको पहिचान गर्दै पालिकामा आँप, कटहर, लिची, एभोकाडो, कागती लगायतका बिरूवाहरू वितरण गरिरहेको छ। डिभिजन वन कार्यालय रामेछापका वन अधिकृत भरत कुमार श्रेष्ठकाअनुसार हालसम्म रामेछाप नगरपालिका र मन्थली नगरपालिकामा वितरण कार्य सम्पन्न भइसकेको छ भने खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकामा पनि वितरणको तयारी भइरहेको छ।
त्यस्तै जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्ती र गुप्तेश्वरमा टिम्मुरका बिरूवा वितरण गरिएको समेत श्रेष्ठले जानकारी दिनुभयो। चिसापानी सव-डिभिजन वन कार्यालयका वन अधिकृत सहयोग क्षेत्रीकाअनुसार बिहीबार मन्थलीमा मात्र २ हजार ५ सयभन्दा बढी फलफूलका बिरूवाहरू वितरण गरिएको छ।
मन्थली सुख्खा क्षेत्र भएकाले सो वातावरणमा अनुकूल हुने प्रजातिहरू चयन गरिएको उहाँले बताउनुभयो। 'प्रत्येक व्यक्तिलाई तीनवटासम्म बिरूवा वितरण गरिएको छ,' वन अधिकृत क्षेत्रीले भन्नुभयो ।
यो कार्यक्रम डिभिजन वन कार्यालय रामेछापद्वारा चालु आर्थिक वर्षको “सामुदायिक तथा कबुलियती वन, नीजी जग्गाधनी तथा व्यक्तिहरूलाई बिरूवा वितरण कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको हो। यस अभियानले वन क्षेत्र संरक्षणका साथै कृषि आयमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।