एजेन्सी । थप आक्रमण नगर्न अमेरिका प्रतिबद्ध भए परमाणु वार्ताका लागि तयार हुने इरानले बताएको छ । इरानी उपविदेशमन्त्री मजिद ताक्त रावाञ्चीले बीबीसीसँग कुरा गर्दै कूटनीतिक वार्ताका लागि आक्रमण नहुने ग्यारेन्टी हुनुपर्ने बताउनुभएको हो । अमेरिकाले मध्यस्थकर्तामार्फत् वार्ताका लागि इरानलाई प्रस्ताव गरेको रावाञ्चीको भनाइ छ ।
यद्यपि, अमेरिकाले आक्रमणबारे स्पस्ट धारणा भने सार्वजनिक गरेको छैन । ओमानको राजधानी मस्कटमा गत जुन १३ का लागि तय वार्ता इजरायलको आक्रमणका कारण बिथोलिएको थियो । युद्धमा अमेरिकासमेत प्रत्यक्ष संलग्न हुँदै इरानका तीन वटा आणविक केन्द्रमा बमबारी गरेको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको पहलमा जारी युद्ध रोकिएको थियो ।
उपविदेशमन्त्री रावाञ्चीले इरानले शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम सम्बर्द्धन गर्ने बताउनुभएको छ । इरान गोप्य रूपमा आणविक बम विकासतर्फ उन्मुख भएको भन्ने आरोपलाई भने उहाँले अस्वीकार गर्नुभयो ।
यसैबीच, संयुक्त राष्ट्रसंघ आणविक निगरानी निकाय आइएईएका प्रमुखले अमेरिकाले इरानका आणविक केन्द्रमा पूर्णरुपमा क्षति पुर्याउन नसकेको दाबी गर्नुभएको छ । तेहरानले केही महिनामै युरोनियम सम्बर्द्धन पुनः सुरु गर्न सक्ने उहाँको भनाइ छ ।