इरानले विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव सर्वसम्मत पारित

असार ९, २०८२
इरानले विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव सर्वसम्मत पारित

एजेन्सी । अमेरिकी हवाइ आक्रमणको प्रत्युत्तरमा इरानको संसदले विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । यो प्रस्तावको अन्तिम स्वीकृति भने सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्नुपर्नेछ ।

अमेरिकी हवाइ हमलाले इरानका नतान्ज, फोर्डो र इस्फहानस्थित आणविक स्थलमा ठूलो क्षति पुगेको छ । तेहरानले यसलाई स्पष्ट आक्रमणको संज्ञा दिएको छ । उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त अरब इमिरेट्सबीच पर्सियन खाडी र अरब सागरलाई जोड्ने स्ट्रेट अफ हर्मुज अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि महत्त्वपूर्ण समुद्री मार्ग हो । यसलाई कच्चा तेल व्यापारको सबैभन्दा ठूलो मार्गका रूपमा लिइन्छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासन ९ईआईए० का अनुसार, विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत तरल नेचुरल ग्यास यही साँघुरो मार्ग हुँदै ढुवानी हुन्छ । हरेक दिन करिब २०।९ मिलियलन ब्यारेल तेल र यससम्बन्धी उत्पादन यही मार्गबाट विशेष गरी भारत, चीन, जापान, दक्षिण कोरियासहित विश्वका विभिन्न ठाउँमा जाने गरेको छ ।

साउदी अरब, इराक, कुवेत, कतारजस्ता प्रमुख तेल उत्पादक देशहरूको तेल यहीँबाट निर्यात हुने भएकाले यसमा कुनै अवरोध आए विश्वव्यापी तेल आपूर्तिमा समस्या पर्नसक्छ । जेपी मोर्गनको विश्लेषणअनुसार स्ट्रेट अफ हर्मुज बन्द भए, तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुग्न सक्छ।

यसैबीच, संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले झुटो बहानामा अमेरिकाले युद्ध घोषणा गरेको आरोप लगाउनुभएको छ । अमेरिकाले इरानका तीन प्रमुख आणविक केन्द्रमा हमला गरेपछि क्षेत्रीय तनाव चुलिएको छ ।

अन्तर्राष्ट्रिय समुदायले अमेरिकाविरुद्ध कारबाही नगरे त्यसको अप्रत्याशित परिणाम भोग्ने चेतावनी इरानले दिएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार फोर्डोस्थित यूरेनियम प्रशोधन केन्द्रमा भएको क्षतिको ठोस मूल्यांकन गर्न सकिएको छैन । उपग्रह तस्बिरहरुले संरचनात्मक क्षति देखाए पनि निरीक्षणका लागि हालसम्म टोली पठाइएको छैन ।