
एजेन्सी । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले वासिङगटनले इरानमा सत्ता परिवर्तन चाहेको संकेत गर्नुभएको छ ।
अमेरिकाले आइतवार विहानै गरेको आक्रमणले इरानको परमाणु केन्द्रमा महत्वपूर्ण क्षति पुगेको दावी गर्दै ट्रम्पले इरानको सत्ता नेतृत्वमा परिवर्तनको सम्भावनाबारे संकेत गर्नुभएको हो । सामाजिक संजाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले सत्ता परिवर्तन भन्ने शब्दावली प्रयोग गर्नु राजनीतिक रुपमा सही नभए पनि यदि त्यहाँको वर्तमान सत्ता इरानलाई पुन: महान बनाउन सक्षम छैन भने त्यहाँ सत्ता परिवर्तन किन नहोस् भन्ने प्रश्न गर्नुभएको छ ।
अमेरिकी उच्च अधिकारीहरुले अमेरिकी आक्रमणको उद्देश्य सत्ता परिवर्तन नभएको बताइरहँदा ट्रम्पले भने त्यसको ठीकविपरीत धारणा सार्वजनिक गर्नुभएको हो । यसको केही घण्टाअघि बोल्दै अमेरिकी रक्षामन्त्री पीट हेगसेथले अमेरिकी आक्रमणको लक्ष्य इरानको सरकारलाई बदल्नु नरहेको बताउनु भएको थियो । केही दिनअघि मात्रै ट्रम्पले इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनी कहाँ छन् भन्ने कुरा अमेरिकालाई थाहा भएको तर अहिले उनलाई समाप्त पार्ने कुनै योजना नरहेको बताउनु भएको थियो । त्यसको केही दिनअघि मात्रै अमेरिकी संचारमाध्यमले इजरायलले खामेनीलाई मार्ने योजना अघि सारेको तर ट्रम्पले त्यसलाई स्वीकृति नदिएको समाचार प्रकाशित गरेका थिए । इरानी क्षेप्यास्त्र आक्रमणबाट दक्षिणी इजरायलको एक अस्पतालमा क्षति पुगेपछि त्यहाँका रक्षामन्त्री इजरायल काट्जले खामेनीको सफाया गर्ने धम्की दिनुभएको थियो ।
यसैबीच सोमवार इरानी सेनाले अमेरिकी आक्रमणको निर्णायक जवाफ दिइने चेतावनी दिएको छ । अमेरिकी आक्रमणबाट इरानी परमाणु केन्द्रहरुमा कुन स्तरको क्षति पुगेको छ भन्ने कुराको संयुक्त राष्ट्रसंघले तत्काल सत्यापन गर्न नसकेको बीबीसीले टिप्पणी गरेकोछ ।
उता अमेरिकी आक्रमणपछि आक्रोशित इरानका विदेशमन्त्री अब्बास अराग्ची साझा चुनौती र खतराबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग छलफल गर्न मस्को पुग्नु भएकोछ ।
उता इजरायल र इरानले एकअर्कामाथि हवाई आक्रमणको क्रमलाई ११औं दिनपनि निरन्तरता दिएका छन् ।
यसैबीच अमेरिकाले चीनलाई वैश्विक तेल ढुवानीका लागि महत्वपूर्ण मानिएको सांघुरो जलमार्ग स्ट्रेट अफ हर्मुजलाई बन्द नगर्न इरानमाथि दबाब दिन आह्वान गरेको छ ।