काठमाडौं । इजरायल इरान द्वन्द्व छैटौं दिनपनि जारी रहँदा अमेरिका पनि यस युद्धमा संलग्न हुने सम्भावना बढ्दै गएकोछ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इजरायलको साथमा मिलेर इरानको भूमिगत परमाणु केन्द्रमा आक्रमण गर्ने विषयमा विचार गरिरहेको अन्तरराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।
ट्रम्पले इरानविरूद्धको युद्धमा अमेरिकी संलग्नताबारे हृवाइट हाउसको सिचुएसन रूपमा एक आकस्मिक बैठक डाकेर राष्ट्रिय सुरक्षा टोलीसँग करीब डेढ घण्टा छलफल गरेको बीबीसीले जनाएको छ । यद्यपि यो युद्धमा अमेरिकी संलग्नताबारे ट्रम्पका सल्लाहकारहरूको फरक-फरक मत रहेको जनाइएको छ ।
अमेरिका यो युद्धमा संलग्न भएमा उसको लक्ष्य जमिनमुनी गहिरोस्थानमा अवस्थित इरानको फोर्दो परमाणु केन्द्रमा आक्रमण गर्नु हुनेछ । उक्त परमाणु केन्द्रलाई ध्वस्त पार्न निकै शक्तिशाली बम चाहिने र अमेरिकासँग यसलाई ध्वस्त पार्न सक्ने क्षमताको ३० हजार पाउण्डको बम रहेको जनाइएकोछ ।
इरानसँग दुईवटा भूमिगत युरेनियम सम्वर्धन केन्द्रहरू रहेका छन् । तीमध्ये एक नातान्ज परमाणु केन्द्रमा इजरायलले पहिलो दिन नै आक्रमण गरेको थियो तर फोर्दो पहाडमूनी निकै गहिराईमा रहेको र अहिलेसम्म इजरायलले त्यहाँ आक्रमण नगरेको जनाईएकोछ ।
फोर्दो परमाणु केन्द्र अन्तरराष्ट्रिय निगरानीकर्ता र विज्ञहरूकालागि निकै समयदेखि अत्यधिक चिन्ताको विषय रहेकोछ भने त्यहाँ इरान परमाणु बम बनाउने दिशामा निकै अघि बढिसकेको आशंका गरिएकोछ ।
निशर्त आत्मसमर्पणकालागि आफुले दिएको चेतावनी इरानले अस्वीकार गरेपछि ट्रम्प इरान विरुद्धको युद्धमा संलग्न हुने मुडमा पुग्नु भएकोहो । मंगलबार सामाजिक संजाल ट्रुथ सोशलमा पोष्ट गर्दै ट्रम्पले अमेरिकाको धैर्य क्षिण हुँदै गएको भन्दै निशर्त आत्मसमर्पण गर्न इरानलाई धम्की दिनुभएको थियो ।
साथै उहाँले इरानी सर्वोच्च नेता आयातुल्लाह अलि खामेनी कहाा लुकेर बसेका छन् भन्ने आफुलाई थाहा भएको तर अहिले नै उहाँलाई समाप्त पार्ने कुनै योजना नरहेको पनि बताउनु भएको थियो ।
ट्रम्पको धम्कीप्रति थप भडकिएका इरानी सर्वोच्च नेता खामेनीले सामाजिक संजाल एक्समार्फत् इजरायलसँग कुनै सम्झौता नगर्ने र कुनै दया पनि नदेखाउने प्रतिक्रिया जनाउनु भएको थियो । साथै उहाँले युद्ध सुरू भएको उद्घोष समेत गर्नुभएको थियो ।
यसैबीच इरानले तेलअबिब तर्फ हाइपरसोनिक क्षेप्यास्त्र फताह वन क्षेप्यास्त्र प्रहार गरेको जनाएकोछ । हाइपरसोनिक क्षेप्यास्त्र ध्वनीको गतिभन्दा पाँच गुणा बढी गतिमा अर्थात् करीब ६ हजार एक सय किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्छ ।
बुधबार बिहान इरानले दुई चरणमा गरी इजरायलतर्फ क्षेप्यास्त्रको वर्षा गरेको र तेल अबिबमा विस्फोटका आवाजहरू सुनिएको जनाइएकोछ । यसअघि इजरायलले गएराती तेहरानस्थित इरानी हतियार भण्डार र यूरेनियम प्रवर्धन स्थलमा आक्रमण गरेको जनाएको थियो । गएरातीको आक्रमणमा ५० भन्दा बढी इजरायली लडाकु विमानको संलग्नता रहेको जनाइएको छ ।