पाल्पा । माटो परीक्षण गर्दा देखिएको नतिजामा अम्लीयपन बढेको देखिएपछि पाल्पाको रिब्दीकोट गाउँपालिकाले प्राङ्गरिक मल उद्योग खोल्ने योजना बनाएर अघिल्लो वर्षको नीति तथा कार्यक्रममा समावेश गर्यो ।
सोहीअनुसार थोरै बजेटमा जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था कुसुमखोलाको सहकार्यमा रिब्दीकोट प्राङ्गरिक मल उद्योग स्थापना गरेर उत्पादन सुरू गरेको छ । सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार परियोजना अघि बढेको हो ।
रिब्दीकोटस्थित जलेश्वर मन्दिरको तीन रोपनी जग्गा लिजमा लिएर जैविक मल उद्योगको पूर्वाधार निर्माण गरिएको छ । कारखाना, गोदामलगायतका संरचना निर्माणपछि मल उत्पादन सुरू भएको हो ।
जैविक मलको मूल्य प्रतिकेजी २५ रूपैयाँ राखिएको छ । दैनिक एक हजार किलोसम्म उत्पादन गर्ने क्षमता उद्योगको छ । उद्योग स्थापनाका लागि गाउँपालिकाको १९ लाख र सहकारीको २० लाख रूपैयाँ लगानी छ । यसले व्यवसायिक किसान र उद्योगमा सहभागीलाई उत्साहित बनाएको छ ।
अमृतबुटी जैविक मल नाम दिइएको यसमा वनमारा, तितेपाती र पहाडी झारपात मिलाइएको छ । साथै बोनमिल, पिना, बायोब्याक्टेरिया, सुडोमोनस, ट्राइकोडर्मा, सी वड, क्याल्सियम, गोबर र प्रेस मड जैविक मलमा प्रयोग गरिएको विज्ञले बताएका छन् ।
यसमा नाइट्रोजन १ प्रतिशत, फस्फोरस ०.५ प्रतिशत, पोटास १ प्रतिशत, चिस्यान २५ प्रतिशत, पिएच ७ प्रतिशत छ । उत्पादन भएको मितिले दुई वर्षसम्म प्रयोग गर्न मिल्छ । माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेले गरेको परीक्षणले रिब्दिकोटको माटोमा अम्लीय र केही स्थानमा क्षरीयपन देखिएको थियो ।
माटोको उर्वराशक्ति घट्दा उत्पादनमा समेत असर पुगेका बेला यस्ता कारखानामा उत्पादित मलले माटोको गुणस्तर सुधारमा सहयोग पुग्ने देखिएको छ । रिब्दीकोटमा तरकारीको व्यवसायिक खेती गर्ने ७ सय किसान छन् ।
अकबरे खुर्सानी ५ करोड, सुन्तला ७ करोड, तरकारी २ करोड बढीको वार्षिक उत्पादन हुने गरेको छ । प्राङ्गरिक मल प्रयोगबाट उत्पादन बढ्ने त छदैछ कारखानामा ८ जनाले रोजगारीसमेत पाएका छन् ।