इजरायलद्वारा इरानमा सैन्य पूर्वाधार लक्षित हवाइ आक्रमण

इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुखको मृत्यु
जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
इजरायलद्वारा इरानमा सैन्य पूर्वाधार लक्षित हवाइ आक्रमण

एजेन्सी । इजरायलले इरानविरुद्ध ठूलो सैन्य कारबाही सुरु गरेको छ । इरानका आणविक सुविधा र सैन्य पूर्वाधारहरूलाई लक्षित ठूलो मात्राको हवाई आक्रमणले क्षेत्रीय तनावलाई बढाएको छ।

तेहरानका सैन्य अड्डाहरू नजिक र वरिष्ठ कमाण्डर बसोबास गर्ने बस्तीहरू नजिक विस्फोटहरू भएका छन्। समाचार एजेन्सीहरूका अनुसार तेहरानको पूर्वी क्षेत्रमा पर्ने एउटा बस्तीमा रहेका उच्चपदस्थ इरानी सैन्य अधिकारीहरू र तिनका परिवारको घरमा समेत आक्रमण भएको छ । यस आक्रमणमा इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल होसेन सालामीको हत्या भएको पुष्टि गरिएको छ। साथसाथै आणविक वैज्ञानिक मोहम्मद-मेहदी तेहरांची र फरेयदुन अब्बासीको पनि हत्या भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

यस घटनापछि इरानले गम्भीर प्रतिशोधको चेतावनी दिएको छ र इजरायली आक्रमणको लागि गम्भीर मूल्य चुकाउनु पर्ने बताएको छ। इरानी सशस्त्र बलहरूले तेहरानमा भएको हवाई आक्रमण पुष्टि गर्दै ती हमला आवासीय क्षेत्रहरूमा गरिएको र शीर्ष कमाण्डरहरू, सहित कर्प्सका प्रमुख सालामी मारिएको जानकारी दिएका छन्। संयुक्त राज्य अमेरिकाले यस आक्रमणको बारेमा पहिले जानकारी पाएको भएपनि संलग्न नरहेको बताएको छ। 

अन्तर्राष्ट्रिय समुदायले यस तनावको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ। विश्व बजारमा पनि यस घटनाले असर गरेको छ । तेलको मूल्य वृद्धि भएको छ भने प्रमुख शेयर सूचकांकहरू घटेका छन् । इजरायल इरान तनावले मध्यपूर्वबाट ऊर्जा आपूर्तिमा अवरोध हुने डर बढेको छ। हाल इजरायल र इरान दुवै उच्च सतर्कतामा छन्, सैन्य बलहरू परिचालनमा छन् र हवाई क्षेत्र प्रतिबन्धित गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.