काठमाडौं । गाजामा मानवीय सहायता लिएर जाँदै गरेको अन्तर्राष्ट्रिय अभियन्ता सवार डुंगा इजरायली सेनाले नियन्त्रणमा लिएको छ । डुंगामा स्विडेनकी जलवायु अभियान्ता ग्रेटा थुनबर्गसहित १२ जना सवार थिए ।
म्याडलीन नामको सो डुंगा गाजातर्फ इजरायलको दीर्घकालीन समुद्री नाकाबन्दीको अवज्ञा गर्दै अघि बढेको थियो। इजरायली सुरक्षाबलले डुंगा नियन्त्रणमा लिएर अश्दोद बन्दरगाहमा लगेको छ ।
फ्रिडम फ्लोटिला कोअलिशनले गाजामा बढ्दो मानवीय संकटप्रति विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले सो अभियान आयोजना गरेको थियो । बेलायती झन्डा बोकेको डुंगा जुन १ मा इटालीबाट प्रस्थान गरेको थियो ।
डुंगामा ब्राजिल, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, स्पेन, स्विडेन र टर्कीका स्वयमसेवकहरू सवार थिए । जसमा फ्रान्सकी युरोपेली सांसद रिमा हसन र अल जजिराका पत्रकार ओमर फैयाद पनि समेल छन् ।
एफएफसीका अनुसार डुंगामा चामल र शिशुहरूको लागि दूधजस्ता केही प्राथमिक सामग्री थिए, जसको उद्देश्य गाजामा रहेको भोकमरी र मानवीय संकटप्रति चेतना फैलाउनु थियो ।
एफएफसीले सार्वजनिक गरेको भिडियोमा अभियान्ताहरूले जीवनरक्षक ज्याकेट लगाएर हात उठाएको देखिन्छ भने केहीले आफ्ना मोबाइल फोनहरू समुद्रमा फ्यालेको पनि देखिएको छ ।
इजरायली विदेश मन्त्रालयले १२ जना सबैलाई स्वास्थ्य परीक्षणपछि चाँडै नै स्वदेश फर्काइने बताएको छ । यस अभियानलाई इजरायलले "मिडिया स्टन्ट" को संज्ञा दिँदै डुंगालाई सेल्फी याट भनेको छ । उसले गाजामा पुर्याउन लागिएको सहायता सामग्री न्यून रहेको उल्लेख गरेको छ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले डुंगामा रहेका छ जना फ्रान्सेली नागरिकको सकुशल रिहाइको माग गर्दै इजरायलको नाकाबन्दीलाई “लज्जास्पद” भन्नुभएको छ ।
फ्रान्सको नीस शहरमा आयोजित संयुक्त राष्ट्रसंघीय महासागर सम्मेलनमा बोल्दै उहाँले गाजामा मानवीय सहायता प्रतिबन्धको आलोचना गर्नुभयो ।