काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले हिजो राति अवेर दिएको आदेशमा सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । साँझ ५ बजे नै थुनछेक बहस सकिए पनि राति सवा १२ बजे मात्रै आदेश सार्वजनिक भएको थियो ।
तीनकुनेमा अवान्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाइसहित ७ जनालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको हो । पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरूमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ लाई थुनामा पठाउन आदेश गरेको हो ।
१ सय ५५ पन्नाको आदेशमा तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने केही उल्लेख छैन । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।
तीनकुने घटनापछि केही समय फरार भएर भारतबाट पक्राउ परेका प्रसाईंसहितको ओदश सार्वजनिक हुनुअघि अदालत परिसरमा भिड थियो । समर्थक, आफन्त, प्रहरी र सञ्चारकर्मीले अदातल अगाडि उपस्थित थिए ।
पूर्व राजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए । दुर्गा प्रसाईँ र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो ।