काठमाडौं । संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्षे धानखेती सुरू भइसक्दा पनि रासायनिक मलको सहज उपलब्धता हुन नसकेको स्वीकार गर्नुभएको छ ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै कृषिमन्त्री अधिकारीले बजारमा तत्कालै डेढ लाख टन मलको माग रहेपनि सोहीअनुसार उपलब्ध गराउन अहिलेको अवस्थामा समस्या हुने स्वीकार गर्नुभयो । यो वर्ष साढे चार लाख टन मल ल्याउने लक्ष्य लिएकोमा अहिलेसम्म ३ लाख ७३ हजार टन आईसकेको र बाँकी ७७ हजार टन ल्याउन पनि सकस भएको बताउनुभयो ।
अहिले कृषि मन्त्रालयसँग ७८ हजार टन रासायनिक मल मौज्दात रहेको पनि उहाँले बताउनुभयो । ७६ हजार टन मल युरिया मल भारतबाट ल्याउने तयारी भएपनि कहिलेसम्म आउँछ यकिन नभएको र चीनबाट ल्याउने भनिएको ६० हजार टन पनि अनिश्चित भएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
कृषि मन्त्रालयले धान खेतीका लागि कम्तिमा १ लाख ५० हजार टन युरिया र ६० हजार टन डिएपी मल आवश्यकता रहने प्रक्षेपण गरेको छ । यता सांसदहरूले भने रासायनिक मल पूर्ति गर्नका लागि मल कारखाना खोल्ने विषयमा अघि बढ्न सुझाएका थिए ।
सांसदहरुले नेपालमा कृषिजन्य वस्तुको लागत बढेको भन्दै घटाउने रणनीति लिन सुझाएका थिए ।