विराटनगर । सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले अख्तियारले पुर्व प्रधानमन्त्रीसहित ९३ जनामाथि गरेको मुद्दा आयोगको क्षेत्राधिकारको विषय भएकाले यस विषयमा सरकारलाई दोष लगाउन नमिल्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थालमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरूङले अख्तियारको दुरुपयोग गरेर अनियमितता र भ्रष्टाचार भएमा त्यस्को छानीविन आयोगले गर्ने भएकाले यस विषयमा सरकारलाई जोडन नमिल्ने बताउनुभयो हाे ।
उहाँले अख्तियारको दुरूपयोग भएमा त्यस्को छानविन गर्ने अधिकार आयोगलाई हो सरकारलाई होइन भन्नुहुँदै यस विषयमा सरकारले प्रतिशोध साध्यो भनेर भन्न नमिल्ने बताउनुभयो । सरकारबाट कुनै प्रकारको गलत काम हुन नदिन तथा सरकारलाई अधिनायकवादतर्फ जानवाट रोक्न यस्ता आयोगहरू बनेको उहाँको भनाई थियो ।
मन्त्री गुरूङले अवरूद्ध सदन चाँडै खुल्ने बताउनुभयो । यस विषयमा दलहरूसँग कुरा भइरहेकाले केहि दिनमै सदन सुचारू हुने उहाँको भनाई थियो । अध्यागमन कार्यालयका कुनै कर्मचाारीले गलत गर्दैमा गृहमन्त्रीको राजिनामा माग्नु उपयुक्त नहुने उहाँको भनाई थियो ।
उहाँले यस विषयमा अख्तियारले अनुसन्धान र छानविन गरिरहेकाले सत्यतथ्य सवै कुरा पछि प्रष्ट हुने वताउनुभयो । मन्त्री गुरूङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरूद्ध भएकाले टेवल हुन नसकेको बताउँदै उहाँले चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने वताउनुभयो ।