राहत लिन भेला भएका प्यालेस्टिनीमाथि इजरायली सेनाले चलायो गोली, २७ जनाको मृत्यु, ९० घाइते

जेष्ठ २०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
राहत लिन भेला भएका प्यालेस्टिनीमाथि इजरायली सेनाले चलायो गोली, २७ जनाको मृत्यु, ९० घाइते

काठमाडौं । इजरायली सेनाले गाजाको दक्षिणी रफाह शहरमा सहायता सामग्री लिन भेला भएका प्यालेस्टिनीमाथि गोली चलाउँदा कम्तीमा २७ जना मारिएको र अन्य ९० जना घाइते भएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले भने थुप्रै शंकास्पद व्यक्तिलाई देखेपछि सहायता सामग्री वितरण केन्द्रनजिकै गोली प्रहार गरेको र हताहतीबारे छानबिन गरिरहेको जनाएको छ ।

सहायता सामग्री लिन भेला भएका प्यालेस्टिनीमाथि इजरायली सेनाले गोली चलाएको यो घटना नयाँ भने होइन । गत मे २७ देखि एउटा विवादास्पद सहायता सामग्री वितरक संस्था जीएचएफले सहायता सामग्री वितरण सुरु गरेयता दिनहुँजसो यस्तो घटना भइरहेको छ । ‘गाजा ह्युम्यानिटेरियन फाउन्डेशन-जीएचएफ’ नामक यो संस्था इजरायल तथा अमेरिका समर्थित र हालै गठित एउटा विवादास्पद संस्था हो ।

यो संस्थालाई सहायता सामग्री वितरणको जिम्मा दिइएकोमा संयुक्त राष्ट्रसंघ र अन्य सहायता वितरक संस्थाहरूले आपत्ति जनाउँदै आएका छन् । सहायता सामग्री लिन भेला भएका मानिसहरूमाथि इजरायली सेनाले गोली प्रहार गरेको यो लगातार तेस्रो दिन भएको सीएनएनले उल्लेख गरेको छ ।

आइतबार पनि यही क्षेत्रमा सहायता सामग्री लिन भेला भएका प्यालेस्टिनीमाथि भएको गोली प्रहारको घटनामा ३१ जना मारिएका थिए भने करिब २ सय जना घाइते भएका थिए । इजरायलले भने आफ्ना सेनाले गोली नचलाएको दाबी गरेको थियो । यस्तै सोमबार बिहान पनि सहायता सामग्री लिन गइरहेका मानिसमाथि इजरायली सेनाले गोली प्रहार गर्दा कम्तीमा तीन जना प्यालेस्टिनी मारिएका थिए भने अन्य थुप्रै मानिस घाइते भएका थिए ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहायता सामग्रीका आकांक्षीहरूको सामूहिक हत्या गरिएका घटनाको स्वतन्त्र अनुसन्धानको माग गर्नुभएको छ ।