सत्ता र प्रतिपक्षबीच सहमति भएपछि मधेश प्रदेश सभाको बैठक आजदेखि सुचारू हुने

जेष्ठ २२, २०८२ |अनिल मिश्र
सत्ता र प्रतिपक्षबीच सहमति भएपछि मधेश प्रदेश सभाको बैठक आजदेखि सुचारू हुने

जनकपुर । सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएपछि मधेश प्रदेश सभाको बैठक आज देखि सुचारू हुने भएकाे छ । 

चालू आर्थिक वर्षको योजना मन्त्रीहरूले नै खरिदबिक्री गरेको आरोप लागेपछि पुर्व घोषणा अनुसार विशेष संसदीय छानविन समितिमा सत्ता पक्षका दलहरूले आफ्ना प्रतिनिधि पठाउने सहमति भएसँगै अवरूद्ध सदन सुचारू हुने भएको हाे । 

सभामुख रामचन्द्र मण्डलको पहल र मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा यस्तो सहमति भएको  जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिनुभयो । 

प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरू भएसँगै जसपाका सांसदहरूले विगतको सहमति अनुसार छानविन समिति गठन किन नभएको भन्दै विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले आज दिउँसो १ बजे बस्ने सम्मका लागि प्रदेश सभाको बैठक स्थगित गर्नुभएको थियो । 

प्रदेशसभाको चौथो अधिवेशनको २२औँ बैठकमा सभामुख मण्डलले छानविन समिति गठन गर्ने घोषणा गरेपनि त्यसको कार्यान्वयन हुनसकेको थिएन ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।