दक्षिण कोरियामा सम्पन्न उपनिर्वाचनबाट डेमोक्रयाटिक पार्टीका 'ली' २१औं राष्ट्रपतिमा विजयी

पछिल्ला वर्षहरूमा चिसिएको अन्तर-कोरियाली सम्बन्धमा नयाँ परिवर्तन हुने संकेत ।
जेष्ठ २१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
दक्षिण कोरियामा सम्पन्न उपनिर्वाचनबाट डेमोक्रयाटिक पार्टीका 'ली' २१औं राष्ट्रपतिमा विजयी

काठमाडौं । दक्षिण कोरियाको हालै सम्पन्न राष्ट्रपतीय उपनिर्वाचनमा लिबरल डेमोक्रयाटिक पार्टीका ली जे-म्युङ विजयी हुनुभएको छ। राष्ट्रिय निर्वाचन आयोगले अधिकांश मत गणना सकिएको र ली कोरियाको २१औं राष्ट्रपतिका रूपमा निर्वाचित भएको जनाएको हो ।

हालसम्म ९४ दशमलब ४ प्रतिशत मत गणना भइसकेको छ । जसमा लीले ४८ दशमलब ८ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रमुख प्रतिद्वन्द्वी, पीपल पावर पार्टीका किम मुन-सूले ४२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । 

बाँकी रहेका सबै मत किमको पक्षमा गएपनि परिणाममा कुनै परिवर्तन नआउने निश्चित भएकाले लीको विजय सुनिश्चित भएको निर्वाचन आयोगले जनाएको छ । यो आकस्मिक निर्वाचन पूर्वराष्ट्रपति यून सुक योलको पदच्युतिपछि सम्पन्न भएको हो। 

योलले आपतकालीन अधिकार प्रयोग गर्दै "मार्शल ल" लागू गरेपछि तीव्र जनविरोध भएको थियो, जसले उहाँको पदबाट बर्खास्तीको मार्ग प्रशस्त गर्यो। योलले सन् २०२२ को निर्वाचनमा लीलाई पराजित गर्नुभएको थियो । 

यस निर्वाचनमा नागरिकहरूको सहभागिता उल्लेखनीय रह्यो। ७९ दशमलब ४ प्रतिशत मतदाता सहभागी भएका थिए । यो सन् १९९७ यताकै सबैभन्दा उच्च सहभागीता हाे । 

विजय प्राप्त गरेपछि राष्ट्रपति निर्वाचित लीले राजधानी सोलस्थित राष्ट्रिय सभाभन्दा बाहिर भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्र एकतामा आधारित शासन गर्ने प्रतिबद्धता जनाउनुभयो। अभिव्यक्ति पछिल्ला वर्षहरूमा चिसिएको अन्तर-कोरियाली सम्बन्धमा नयाँ परिवर्तनको संकेत मानिएको छ।

देशका प्रमुख प्रसारण संस्थाहरूले प्रारम्भिक मतगणना र एक्जिट पोलका आधारमा लीको विजयको अनुमान अघि नै गरेका थिए। ली को विजयले दक्षिण कोरियाको राजनीतिक परिदृश्यमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ ।