एसी मिलानले छ महिनामै प्रशिक्षकलाई गर्‍यो बर्खास्त

जेष्ठ १६, २०८२ |खेल ब्युरो
एसी मिलानले छ महिनामै प्रशिक्षकलाई गर्‍यो बर्खास्त

काठमाडौं । सिरी ए क्लब एसी मिलानले प्रशिक्षक सेर्जियो कोसेसा-ओलाई छ महिनामै पदबाट बर्खास्त गरेको छ। इटालियन मिडियामा सार्वजनिक भएका रिपोर्टअनुसार क्लबका पूर्व-प्रशिक्षक मासिमिलियानो अल्लेग्री पुनः सान सिरो फर्किन सक्ने चर्चा भइरहेको छ।

अल्लेग्रीले सन् २०१० देखि २०१४ सम्म मिलानको प्रशिक्षण सम्हालेका थिए। ५० वर्षीय कोसेसाओले पाउलो फोन्सेकालाई हटाएपछि गत डिसेम्बरमा १८ महिनाको सम्झौतामा मिलानको प्रशिक्षण सम्हालेका थिए। 

उनले पोर्टोमा ६ वर्षमा ११ उपाधि जितेका थिए र मिलान आएपछि एक हप्तामै इटालियन सुपर कप जितेका थिए। तर, मिलानले कोप्पा इटालिया फाइनलमा बोलोग्नासँग हार खाएको थियो र लिगमा पनि प्रदर्शन सन्तोषजनक हुन सकेको थिएन् । 

कोसेसाओको प्रशिक्षणमा मिलान आठौँ स्थानमा रह्यो । जसले गर्दा अर्को सिजन युरोपेली फुटबल प्रतियोगिता खेल्न पाउने छैन। अर्कोतर्फ उसको निकट प्रतिद्वन्द्वी इन्टर मिलान यसै साता च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट-जर्मेनसँग खेल्दैछ। 

उनलाई बर्खास्त गर्दै मिलानले प्रशिक्षक सेर्जियो र उनको टोलीलाई पछिल्ला महिनाहरूमा देखाएको समर्पण र प्रतिबद्धताका लागि धन्यवाद दिएको बताएको छ। मिलानले क्लबको इतिहासमा ५०औँ ट्रफी दिलाउन योगदान पुर्‍याउने प्रशिक्षकलाई बिदाइ गर्दै भविष्यका लागि शुभकामना व्यक्त गरेको थियो।