गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान

जेष्ठ १६, २०८२ |नवराज श्रेष्ठ
गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान

रामेछाप । गणतन्त्र दिवस-२०८२ को अवसरमा रामेछापको मन्थलीस्थित देवकोटा चोकमा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी, रामेछाप जिल्ला शाखाको सहकार्यमा जिल्ला समन्वय समिति, रामेछाप र गणतन्त्र दिवस जिल्ला स्तरीय समिति, रामेछापको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाली कांग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्की, एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, रामेछापका प्रहरी प्रमुख डिएसपी भोलाप्रसाद भट्ट, गैरसरकारी संस्था महासंघ नेपाल रामेछापका अध्यक्ष रत्न कडेललगायत १५ जना भन्दा बढी व्यक्तिले रक्तदान गरेका छन।

गणतन्त्र दिवस जिल्ला स्तरीय समिति संयोजक तथा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्काले कार्यक्रम सफल रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिँदै भन्नुभयो, 'गणतन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको दिनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु प्रेरणादायक छ। यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिन्छन् र सहकार्यको भावना बलियो बनाउँछन्।'

रक्तदान कार्यक्रमको उद्देश्य गणतन्त्र दिवसको सन्देशलाई सेवामूलक कार्यमार्फत् जनस्तरसम्म पुर्‍याउनु र रक्त संकलनमार्फत् स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

दिवसका अवसरमा सदरमुकाम मन्थलीमा संचालित मन्थली अस्पताल, तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण पनि गरिएको छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।