जुम्ला । गाउँमै मिल बनेपछि पिठो पिस्नको लागि घण्टौं हिडेर घट्ट जानुपर्ने तिला-९ घोडेगाउँका बासिन्दाको बाध्यता हटेको छ । मिलमा उनीहरू तेल पेल्ने समेत गरेका छन ।
उनीहरू गाउँमै उर्जाको माध्यमबाट चलेको मिलमा कुटानी पिसानीको काम गरिरहेका छन । पहिले तीन घण्टाको पैदल हिडाई पछि घट्ट पुगिन्थ्यो । पिठो पिस्न पालो कुर्नु परिरहेको हुन्थ्यो । पालो नपाउँदा घट्टमै बास बस्नु परेको अवस्था थियो । तर, अहिले गाउँमै मिल बनेपछि सहज बनेको छ ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमको १५ लाख रकमले गाउँमै कुटानी पिसानी मिल बनेको छ । वडाध्यक्ष जंग रोकायाले भन्नुभयाे, 'गाउँमै मिल बनेपछि घोडेबासीको कार्यबोझ घटेको छ । मकै, जौं, गहुँलगायतको पिठो पिस्न निकै समस्या थियो । पानीको मुहान सुक्दा घट्टहरूसमेत बन्द हुने अवस्थामा थिए । तर, अहिले मिल बनेपछि गाउँलेहरू राहतको अनुभुती गर्न थालेका छन ।’
गाउँका घट्ट नचल्दा घण्टौं हिडेर सुडी, रिपी, तुही, रारालिहीका घट्टसम्म पुग्ने पर्ने बाध्यता घोडेगाउँबासीको थियो । कहिलेकाही त छिमेकी जिल्ला कालिकोटको रतडा गाउँमा समेत पिठो पिस्न जानु परेको थियो । हिउँदमा खोला सुक्थ्यो । चैत वैशाख र जेठमा सुख्खा खडेरी हुन्थ्यो । खेडेरीले घट्ट चल्न नसक्दा निकै ठुलो समस्या हुने गरेको थियो ।
घोडेगाउँका ७६ घर धुरीका लागि यो मिल बनेको हो । वडाध्यक्ष रोकायाले भन्नुभयाे, ‘पिसानीको काम घोडेगाउँकाले मात्र गर्न सक्ने भएपनि तेल पेल्ने र धान कुट्ने सेवा छिमेकी गाउँहरूले समेत लिन सक्नेछन । बिजुली निकाल्ने खोलाहरू नहुँदा निकै समस्या थियो । तर, उर्जाको व्यवस्थापन भएपनि बिजुली बाल्ने रहरपनि पुरा भएको छ । कुटानी पिसानीको पनि काम सुरू भएको छ ।