काठमाडौं । बेलायतका राजा किङ्ग चार्ल्स तृतीयले क्यानडाको नयाँ संसदीय सत्रको उद्घाटन गर्दै ऐतिहासिक सम्बोधन गर्नुभएको छ । चार्ल्स तृतीयको झण्डै ५० वर्षपछि भएको पहिलो सम्बोधन हो ।
क्यानडालाई अमेरिका अन्तर्गत ल्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको उत्तेजक टिप्पणीहरूपछि चर्किँदै गएको द्विपक्षीय तनावको सन्दर्भमा यो सम्बोधनले क्यानडाको सार्वभौमिकताको प्रबल सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।
सम्बोधनमा प्रधानमन्त्री मार्क कार्नीको नेतृत्वमा नयाँ अध्याय सुरू भएको उल्लेख गर्दै, किङ्ग चार्ल्सले अनिश्चित विश्वमा क्यानडाको परिवर्तनशील भूमिकालाई जोड दिनुभयो। उहाँले देशको नवीनता र एकताको प्रशंसा गर्दै यसलाई साहसी र गतिशील राष्ट्रको रूपमा वर्णन गर्नुभयो ।
बदलिंदो अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापार प्रणालीप्रति संकेत गर्दै उहाँले विशेषगरी युरोपसँग पुनः साझेदारी र अमेरिकासँग रणनीतिक संवादको आवश्यक्तामा जोड दिनुभयो।
घरेलु मामिलामा, चार्ल्सले कार्नीको आर्थिक योजनाहरू प्रस्तुत गर्नुभयो । जसमा पूर्वाधार विस्तार, आदिवासी स्वामित्वमा सहयोग र हरेक वर्ष अरबौं डलर खर्च हुने आन्तरिक व्यापार अवरोधहरूको अन्त्य समावेश छन्।
यस्तै घर किन्ने क्षमतालाई प्राथमिकता बनाई वार्षिक घर निर्माण दोब्बर पार्ने र पहिलोपटक घर किन्नेहरूका लागि कर छुट दिने प्रतिवद्धता चार्ल्सले व्यक्त गर्नुभयो ।
अपराध नियन्त्रणका सन्दर्भमा, मानव तस्करी र घरमा जबर्जस्ती प्रवेशजस्ता अपराधका लागि कडा सजायको घोषणा गरियो। सुरक्षाका क्षेत्रमा, चार्ल्सले नेटोको लक्ष्य पुरा गर्ने, आर्कटिक सुरक्षामा सुधार ल्याउने, र अमेरिकाको "गोल्डेन डोम" मिसाइल प्रणालीमा सहभागी हुने सम्भावनाबारे चर्चा गर्नुभयो।
चार्ल्सको सम्बोधनले क्यानडा सबल, स्वतन्त्र र रूपान्तरणको लागि तयार छ । अब आफ्नै बाटोमा अघि बढ्दैछ भन्ने सन्देश स्पष्ट भएको विश्लेषकको भनाइ छ ।