एनभीए भलिबल : महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई

जेष्ठ १५, २०८२ |खेल ब्युरो
एनभीए भलिबल : महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं । एनभीए भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले महिलातर्फको उपाधिमा ह्याट्रिक गरेको हो । जारी संस्करणमा अपराजित रहँदै उसले उपाधि जितेको हो । पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।

पोखरा रंगशालाको कभर्डहलमा भएको फाइनलमा पुलिसले आज न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई ३-१ ले हराउँदै उपाधि रक्षा गरेको हो । प्रतियोगितामा उत्कृष्ट लयमा रहेको उसले पहिलो सेटमा २५-२० को जित निकालेको थियो । न्यु डायमन्डले दोस्रो सेटमा पुनरागमनको प्रयास गरेको थियो ।

पुलिसले यो सेट २२-२५ ले गुमाएपछि खेल १-१ को बराबरीमा पुगेको थियो । तर तेस्रो निकै प्रतिस्पर्धामक बनेको तेस्रो सेट पुलिसले २८-२६ ले बाजी मारेको थियो । यस्तै चौथो सेटमा पुलिसले २५-१४ को सहज जितसाथ उपाधिमा कब्जा जमाएको हो । लिग चरणमा पनि पुलिसले न्यु डायमन्डलाई ३-० ले हराएको थियो । यी दुवै टिम काभा महिला क्लब भलिबल प्रतियोगितामा प्रवेश गरिसकेका छन् । 

उपाधिसँगै पुलिसले ८ लाख र उपविजेता न्यु डायमन्डले ४ लाख प्राप्त गरेको छ । त्यसैगरी एभरेस्ट भलिबल क्लब महिलातर्फ तेस्रो भएको छ । आजै बिहान भएको तेस्रो स्थानको खेलमा नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा हराउँदै एभरेस्टले तेस्रो स्थान हासिल गरेको हो । थाइल्यान्डका ३ खेलाडी सहभागी गराएको एभरेस्ट क्लबले पहिलो सेट २५-१८ ले जितेको थियो । 

त्यसैगरी, दोस्रो सेटमा १०-२५ ले पराजित भएपछि खेल १-१ को बराबरीमा पुगेको थियो । यस्तै, तेस्रो सेट २५-१३ र चौथो सेटमा २९-२७ को जित साथ एभरेस्ट विजयी भएको हो । तेस्रो भएको एभरेस्टले दुई लाख पुरस्कार पाएको छ । सर्वोत्कृष्ट खेलाडी बनेकी उषाले ५० हजार रुपैयाँ पुरस्कार पाइन् ।