प्रधानमन्त्री कप भलिबल : पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस् क्लबलाई

जेष्ठ १५, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप भलिबल : पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस् क्लबलाई

काठमाडौं । नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस् क्लबले जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा भएको रोमाञ्चक फाइनलमा घरेलु टिम गण्डकी प्रदेशलाई पाँच सेटमा हराएर हेल्प नेपाल च्याम्पियन बनेको हो ।

खेलको पहिलो सेटमा लगातार अग्रता बनाएको गण्डकीले २५-२० को जित हासिल गर्‍यो । दोस्रो सेटमा गण्डकीले उसैगरी लगातार अग्रता बनायो । अन्तिममा हेल्प नेपालले २५-२५ को पुनरागमन गरेको भए पनि गण्डकी २७-२५ ले विजयी भयो । घरेलु समर्थक माझ गण्डकीले २-० को अग्रता बनाएको भए पनि उसले लय कायम राख्न सकेन । तेस्रो सेट नेक-टु-नेक भए पनि हेल्प नेपालले २५-२२ ले जित्यो । चौथो सेटमा गण्डकीले २५-१४ को फराकिलो हार बेहोर्‍यो । त्यसपछि २-२ को बराबरी भएको खेलको अन्तिममा मुवासर राजाले शानदार प्रदर्शन गरेर हेल्प नेपाललाई १५-८ को पुनरागमन जित दिलाएका हुन् । 

यो जितसँगै हेल्प नेपालले ८ लाख पुरस्कार पायो । मुवासर पुरुषतर्फ प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी, नेपाल पुलिस क्लब लिगमा तेस्रो भएको छ । आज बिहान नै भएको खेलमा अर्को विभागीय टोली, त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै पुलिस तेस्रो भएको हो । यी दुईबीच तेस्रो स्थानको प्रतिस्पर्धाको पहिलो सेट किनै प्रतिस्पर्धात्मक भएको थियो । लगातार बराबरी भए पनि पुलिस २७-२५ ले विजयी भयो । दोस्रो सेटमा पुलिसले सहजै २५-२० को जित निकालेपछि खेलमा आर्मी २-० ले पछि परेको थियो । 

तर तेस्रो सेटमा आर्मीले पुलिसलाई कडा चुनौती दिएर सेट २५-२३ ले जितेको थियो । तर धेरै प्रयासका बाबजुद पनि आर्मीले कमब्याक गर्न नसक्दा चौथो सेटमा २५-१४ को जितसहित पुलिसले तेस्रो स्थान कब्जा गरेको हो । यससँगै आर्मी चौथो बन्यो ।