काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको सबै विधा समेटिएको अनुसन्धानात्मक पुस्तक तयार पारेको छ । ‘नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म’ नामक उक्त कृति शुक्रबार सार्वजनिक हुँदैछ ।
गोरखापत्रभन्दा अघिको पर्चाको इतिहासदेखि वर्तमान डिजिटल मिडिया समेट्ने उक्त पुस्तक विभिन्न ७ जना विज्ञहरूद्वारा करिब एक वर्षको अध्ययन, अनुसन्धानपछि तयार पारिएको काउन्सिलको मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिनुभयो । मिडियाका विभिन्न विधागत विज्ञ, विश्वविद्यालयका अध्यापकसहितलाई सहभागी गराई नेपाली मिडियाको इतिहासदेखि वर्तमानसम्म झल्कने दस्ताबेज तयार भएको उहाँले बताउनुभयो । सबै विधागत विषय समेटिएको यो प्रकाशन नेपाली मिडिया जगतमा नौलो र पहिलो नै हुनेछ ।
प्रेस काउन्सिले मिडिया क्षेत्रको अध्ययन, अनुसन्धानलाई प्राथमिकता दिई काम गरिरहेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले एउटै पुस्तकमा हिजोदेखि आज र भोलिलाई समेत आधारशीला हुने मिडियाको दस्ताबेज अभाव भएर यो प्रकाशन गरिएको जानकारी दिनुभयो ।
“पहिले लिपिबद्ध भएका कृतिहरू विधागत रूपमा बेग्लाबेग्लै थिए । तीमध्ये पनि कतिपय अनुसन्धानात्मक चरित्र बोकेका थिएन । पछिल्ला न्यु मिडिया समावेश भएका अनुसन्धानात्मक विषयसहितको कृतिको त अभाव हुने नै भयो । यही अभाव र शून्यता हटाउने प्रयास स्वरूप यो कृति प्रकाशन भएको हो”, अध्यक्ष बस्नेतले भन्नुभयो ।
काउन्सिलले ४ वर्षदेखि मिडियाको अंग्रेजी वर्ष पुस्तक (एअर बुक) समेत प्रकाशन थाली निरन्तरता दिइरहेको छ । तीव्र रूपमा विकास भइरहेको मिडिया क्षेत्रमा हरेक वर्षका प्रमुख घटना, प्रवृत्ति, नीति र कार्यक्रमहरूको अङ्ग्रेजी भाषामा नियामक र आधिकारिक निकायबाट निकालिएको प्रकाशन यो पहिलो हो ।