काठमाडौं । पूर्वी चीनको एक रासायनिक कारखानामा भएको ठूलो विस्फोटपछि कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने थप ६ जना बेपत्ता छन।
विस्फोटपछि आकाशमा खरानी र सुन्तला रङको धुँवाको ठूलो मुस्लो निस्किएको थियो भने वरपरका भवनका झ्यालहरू फुटेका थिए । यो घटना शान्डोङ प्रान्तको गाओमी शहरस्थित शान्डोङ योडाओ केमिकलको कार्यशालामा भएको हो ।
विस्फोटको कारणबारे अनुसन्धान भइरहेको स्थानिय अधिकारीले जनाएका छन । बिस्फोटबाट १९ जना सामान्य घाइते भएका छन । अगस्ट २०१९ मा स्थापना भएको शान्डोङ योडाओ केमिकल गाओमी रेनहे रासायनिक पार्कमा ४६ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यसमा तीन सयभन्दा बढी कर्मचारी कार्यरत छन।
कम्पनीले विषादी, औषधि र रासायनिक मध्यवर्ती वस्तुहरू विकास, उत्पादन र बिक्री गर्छ । यसअघि २०१५ मा चीनको उत्तरपूर्वी सहर तिआन्जिनमा रहेको रासायनिक गोदाममा विस्फोट हुँदा एक सय भन्दा बढी मानिसको मृत्यु भएको थियो ।