काठमाडौं । गाजाको फहमी अल-जर्गावी विद्यालयमा इजरायली हवाई आक्रमण हुँदा ५४ जनाको मृत्यु भएको छ । मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ ।
उत्तरी गाजाको बेत लाहियाबाट विस्थापित सयौँ व्यक्तिले आश्रय लिएको विद्यालयमा आक्रमण भएको हो । घटनास्थलमा तीनवटा कक्षा कोठा जलिरहेको अवस्थामा भेटिएको र बालबालिकालाई जोगाउन नसकेको स्थानीय उद्धारकर्मी फारीस अफानाले बताउनुभयो ।
इजरायली सेनाले भने उक्त स्थानमा हमास र इस्लामिक जिहादको कमाण्ड केन्द्र रहेको दाबी गरेको छ । तर, इजरायलले आममानिसलाई निशाना बनाएको बन्दै विरोध भएको छ ।
आक्रमणमा हमास प्रहरी प्रमुख मोहम्मद अल-कासिह उनकी श्रीमती र बच्चाहरूको पनि मृत्यु भएको बताइएको छ । यसैबीच, उत्तरी गाजाको जबालियामा एउटा घरमा भएको अर्को हवाई आक्रमणमा १९ जना मारिएको गाजास्थित अल-अहली अस्पतालका निर्देशकले बताएका छन ।
इजरायली सेनाले पछिल्लो ४८ घण्टामा गाजाभर दुई सयभन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ । युद्धविराम प्रयासअन्तर्गत हमासले अमेरिकी दूत स्टीव विट्कोफले प्रस्ताव गरेको भनिएको योजना स्वीकारेको जनाएको छ । सो प्रस्तावअनुसार हमासले दुई चरणमा १० इजरायली बन्धक रिहा गर्ने ७० दिनको युद्धविराम, इजरायली सेनाको क्रमिक फिर्ता र सयौँ प्यालेस्टिनी कैदी रिहा गरिनेछ ।
यसैबीच, रेडक्रसका दुई कर्मचारी पनि खान युनिसमा घरमाथि भएको आक्रमणमा मारिएको पुष्टि भएको छ । रेडक्रसले गाजामा आम नागरिकको असह्य मृत्युदर रहेको भन्दै युद्धविरामको पुनः आह्वान गरेको छ ।