काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा तथा रकम असुली प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचारहरू अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभयो ।
उहाँले आफूलाई संलग्न देखाएर सार्वजनिक भएका समाचार र सामाजिक सञ्जालमार्फत अभिव्यक्त धारणाहरू असत्य र बेठीक भएको दाबी गर्नुभयो । उहाँले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको जिकिर गर्नुभयो । गृहमन्त्री लेखकले आफूमाथिको आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित भएको जिकिर गर्नुभयो । उहाँले आफूमाथिको आक्रमण षड्यन्त्रमुलक रहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो विषयमा मेरो संलग्नता देखाएर समाचारहरू र सामाजिक सञ्जालमार्फत धारणाहरू अभिव्यक्त भएका छन्, यो असत्य कुरा हो, यो बेठिक कुरा हो र यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा यहाँहरूमार्फत निवेदन गर्न चाहन्छु । मलाई मेरो विरुद्धमा नियोजित, षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित छ । षड्यन्त्रमुलक छ र यसको क्रम जारी छ भन्ने अनुभूति गरेको छु ।”