भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, दिल्लीमै एक सयभन्दा बढीमा संक्रमण

जेष्ठ १२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, दिल्लीमै एक सयभन्दा बढीमा संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणका बिरामीको संख्या बढ्दै गएको छ । भारतभर अहिले एक हजार ९ सक्रिय संक्रमित रहेको र त्यसमध्ये राजधानी दिल्लीमा मात्रै १०४ जनामा संक्रमण देखिएको भारतीय समाचारमाध्यमले जनाएका छन् । 

दिल्लीका संक्रमितमध्ये ९९ जनामा गत साता मात्रै संक्रमण पुष्टि भएको हो ।

केरलमा सबैभन्दा बढी ४३० जना, महाराष्ट्रमा २०९, गुजरातमा ८३, कर्नाटकमा ४७, उत्तरप्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगालमा १२ र हरियाणामा ९ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनमा संक्रमित बिरामीहरूमा कोभिडको ‘एनबी वन प्वाइन्ट एट प्वाइन्ट वन’ र ‘एलएफ सेभेन’ सब-भेरिएन्ट देखिएको छ । विश्व स्वास्थ्य संगठनले यी दुवै सब-भेरिएन्टलाई चिन्ताजनक नभई निगरानी अन्तरगतको भेरिएन्टका रूपमा सूचीकृत गरेको छ ।

कोभिडका कारण पछिल्ला केही दिनमा महाराष्ट्रमा कम्तीमा ४ जना, केरलमा २ जना र कर्नाटकमा एक जना गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय समाचारमाध्यमले जनाएका छन् ।

पछिल्ला केही दिनमा सिंगापुर, हङकङ र थाइल्यान्डमा पनि कोभिड संक्रमितको संख्यामा वृद्धि भएको खबरहरू आएका छन् । सन् २०१९ को डिसेम्बरको अन्यतिर पहिलो पटक चीनमा पहिचान गरिएको कोभिड छिट्टै विश्वभर फैलिएको थियो । २०२० यता कोभिडका कारण विश्वभर लाखौं मानिसले ज्यान गुमाएका थिए ।