काठमाडौं । रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको उक्त मुद्दामा बहस गर्नुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनुभयो ।
आदेशसँगै आलम आजै रिहा हुने अधिवक्ता घिमिरेले बताउनुभयो ।
जिल्ला अदालत रौतहटको आदेशविरुद्ध आलमले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुनरावेदन गरेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । तर आज थुनामा राख्ने आदेश उल्ट्याउँदै उच्च अदालतले रिहा मात्र गरेन, आलमलाई सफाइ समेत दियो ।
रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् ।
पहिलो संविधान सभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा कांग्रेस नेता आलमलाई प्रहरीले ०७६ असोज २६ मा पक्राउ गरेको थियो ।