गाजामा तत्काल स्थायी युद्धविराम गर्न इजरायलमाथि राष्ट्रसंघ र अरब मुलुकहरूको दबाब

जेष्ठ ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा तत्काल स्थायी युद्धविराम गर्न इजरायलमाथि राष्ट्रसंघ र अरब मुलुकहरूको दबाब

काठमाडौं । संयुक्त राष्ट्रसंघसहित अरब मुलुकहरूले गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै प्यालेस्टिनीलाई स्थानान्तरण गर्ने योजनाको विरोध गरेका छन् ।इराकको बगदादमा जारी अरब लिग सम्मेलनका सहभागीहरूले गाजामा इजरायलले गरेको आक्रमणको निन्दा गर्दै तत्काल युद्धविरामका लागि दबाब बढाएका हुन् । 

सम्मेलनमा राष्ट्रसंघ महासचिव एन्टेनियो गुटेरेसले गाजामा स्थायी युद्धविराम गर्नुपर्ने, हमासले पनि बन्धकहरूलाई बिनाशर्त रिहा गर्नुपर्ने र गाजामा मानवीय सहायताको निर्बाध आपूर्ति हुनुपर्ने बताउनुभयो । उहाँले गाजाको स्थल कारबाहीलाई विस्तार गर्ने इजरायली योजनाप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।

यस्तै, अरब मुलुकहरूले पनि गाजामा इजरायलले सैन्य कारबाही तीव्र बनाएकोमा विरोध जनाएका छन् । साउदी अरबले गाजा युद्धविरामको आह्वान गर्दै प्यालेस्टिनीलाई बलपूर्वक स्थानान्तरण गर्ने योजनालाई अस्वीकार गर्ने जनाएको छ । प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बासले अरब सम्मेलनले गाजा युद्ध अन्त्यका लागि योजना पारित गर्न आग्रह गर्नुभयो ।

आज मात्र इजरायलको आक्रमणमा खान युनिुस, गाजा सिटी र उत्तरी गाजाको जाबालिया र बेइत हानुनमा २१ प्यालेस्टिनी मारिएका छन् । २४ घण्टा अवधिमा १५० जना मारिएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमण जारी रहेकै बेला कतारको दोहामा दुवै पक्षबीच युद्धविराम वार्ता जारी रहेको हमास अधिकारीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

यता हमासले पनि सामाजिक सञ्जाल टेलिग्राममार्फत गाजामा जारी नरसंहार रोक्न र इजरायलमाथि तत्काल प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।