काठमाडौं । रूस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानमा सहमति भएको केही घण्टामै रूसको ड्रोन आक्रमणमा उत्तर-पूर्वी युक्रेनमा ९ सर्वसाधारण मारिएका छन् । युक्रेनको उत्तरपूर्वी सुमीको बिलोपिलियामा शनिबार बिहान आक्रमण भएको सैनिक अधिकारीहरूले जनाएका छन् ।
आक्रमणमा ७ जना घाइते भएका छन् । युक्रेनका विदेशमन्त्री एन्ड्री सिविहाले आक्रमण नृशंस युद्ध अपराध भएको उल्लेख गर्दै भर्त्सना गर्नुभएको छ ।
यसअघि हिजो पहिलो पटक भएको प्रत्यक्ष वार्तामा दुवै पक्षबीच एक हजार युद्धबन्दी आदानप्रदानको सहमति भएको थियो । यसलाई महत्त्वपूर्ण उपलब्धि मानिएको छ । आफ्नो देशका तर्फबाट वार्ता टोलीको नेतृत्व गरेका युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोभले बन्दी आदानप्रदान प्रकिया चाँडै हुने आशा व्यक्त गर्नुभएको छ । उहाँले अबको वार्ता राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नै हुनुपर्नमा जोड समेत दिनुभएको छ ।
युक्रेन र रूसका प्रतिनिधिमण्डलहरू सन् २०२२ को मार्चपछि पहिलो पटक प्रत्यक्ष वार्तामा बसेका हुन् । यो भेटवार्ता टर्किएको इस्तानबुलस्थति बोस्पोरस किनारमा रहेको ओटोमन साम्राज्यकालीन दरबारमा भएको थियो । टर्की र अमेरिकाको दबाबले युद्धरत पक्षलाई वार्ताका लागि त्यहाँ पुर्याएको हो । तर वार्तामा सहभागी दुई देशका अधिकारीले हात मिलाएनन् भने युक्रेनी टोलीका आधा सदस्यले आफ्नो मुलुक आक्रमणको निशानामा रहेको संकेत झल्काउने पोशाक लगाएका थिए ।