काठमाडौं । घातक युद्ध सुरू भएको तीन वर्षभन्दा बढी समयपछि, हिजो रूस-युक्रेन युद्ध अन्त्यको प्रयासमा केही प्रगति भएको छ ।
दुवै पक्षले एक-अर्कालाई एक हजार युद्धबन्दी फिर्ता गर्न सहमत भएका छन । जुन वार्ताको महत्वपूर्ण उपलब्धि हो । आफ्नो देशका तर्फबाट वार्ता टोलीको नेतृत्व गरेका युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोभले बन्दी आदानप्रदान प्रकिया चाँडै हुने आशा व्यक्त गर्नुभएको छ ।
उहाँले अबको वार्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति पुटिनबीच नै हुनुपर्नमा जोडसमेत दिनुभएको छ । युक्रेन र रुसका प्रतिनिधिमण्डलहरू सन् २०२२ को मार्चपछि पहिलो पटक प्रत्यक्ष वार्तामा बसेका हुन् ।
यो भेटवार्ता तुर्किएको इस्तानबुलस्थति बोस्पोरस किनारमा रहेको ओटोमन साम्राज्यकालीन दरबारमा भएको थियो। टर्की र अमेरिकाको दबाबले युद्धरत पक्षलाई वार्ताका लागि त्यहाँ पुर्याएको हो ।
तर, वार्तामा सहभागी दुई देशका अधिकारीले हात मिलाएनन् भने युक्रेनी टोलीका आधा सदस्यले आफ्नो मुलुक आक्रमणको निशानामा रहेको सङ्केत झल्काउने पोशाक लगाएका थिए ।