रूस र युक्रेनबीच टर्कीको इस्तानबुलमा आज शान्ति वार्ता हुँदै

पुटिन सहभागी नहुने भएसँगै वार्ता फलदायी हुनेमा आशंका
जेष्ठ १, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रूस र युक्रेनबीच टर्कीको इस्तानबुलमा आज शान्ति वार्ता हुँदै

काठमाडौं । रूस र युक्रेनबीच टर्कीको इस्तानबुलमा आज शान्ति वार्ता हुँदैछ । रुसी राष्ट्रपति पुटिन सहभागी नहुने भएसँगै वार्ता फलदायी हुनेमा भने आशंका बढेको छ ।

युक्रेन युद्धसम्बन्धी आज इस्तानबुलमा हुने शान्तिवार्तामा सहभागी हुनेहरूको क्रेमलिनद्वारा सार्वजनिक सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छैन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई सहभागी हुन आग्रह गर्नुभएको भएपनि पुटिन वार्तामा सहभागी नहुने क्रेमलिनले जनाएको हो । 

क्रेमलिनद्वारा जारी वक्तव्यअनुसार रूसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिको सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्नुहुनेछ । जेलेन्स्कीले यसअघि यदि पुटिनले सहमति जनाए भने आफु स्वयं वार्तामा सहभागी हुने र पुटिनसँग प्रत्यक्ष भेट गर्ने बताउनुभएको थियो । उहाँले प्रत्यक्ष वार्ता सुनिश्चित गर्न सक्दो प्रयास गर्ने पनि बताउनुभएको थियो ।

जेलेन्स्कीले आज सुरूमा टर्कीको राजधानी अङ्कारामा राष्ट्रपति रेचेप तैयप एर्दोगानसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि उहाँ शान्तिवार्ताका लागि इस्तानबुल जानुहुनेछ ।

रूस र युक्रेनले मस्कोले आक्रमण सुरू गरेलगत्तै मार्च २०२२ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए। तीन वर्षभन्दा बढी समयपछि दुवै पक्ष सैद्धान्तिक रूपमा वार्ता पुनः सुरू गर्न सहमत भएका छन। तर दुवै पक्षले आफ्ना अडानहरू कायमै राखेका छन ।