ट्रम्प र पुटिन भेट नभएसम्म रूस-युक्रेन वार्तामा प्रगति नहुने अमेरिकी कुटनीतिज्ञ रूबियोको भनाइ

इस्तानबुल शान्ति वार्ता अनिश्चित
जेष्ठ २, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्प र पुटिन भेट नभएसम्म रूस-युक्रेन वार्तामा प्रगति नहुने अमेरिकी कुटनीतिज्ञ रूबियोको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट नभएसम्म रूस युक्रेन वार्तामा प्रगति नहुने शीर्ष अमेरिकी कुटनीतिज्ञ मार्को रूबियोले बताउनुभएको छ । बिहिबारका लागि तय गरिएको रूस युक्रेन शान्तिवार्ता नभएपछि अमेरिकी कुटनीतिज्ञको यो भनाइ आएको हो ।

उहाँले टर्कीमा हुने युक्रेन-रूस शान्ति वार्ताबाट उच्च आशा नराखेको समेत बतानुउभयो । टर्की, अमेरिका, युक्रेन र रुसका प्रतिनिधिमण्डलहरू सन् २०२२ यता पहिलो पटक युक्रेन-रूस प्रत्यक्ष वार्ताका लागि बिहीबार इस्तानबुलमा भेट्ने तय भएको थियो। 

बिहीबार साँझसम्म, वार्ताको समय तय हुन सकेन । केही अन्तराष्ट्रिय सञ्चार माध्यमले आज रूस युक्रेनबीच वार्ता हुन सक्ने जनाएका छन । भोलिदिमिर जेलेन्स्कीले युक्रेनले इस्तानबुलमा वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने बताउनुभएको छ । तर रुसले युक्रेनलाई गम्भीरतापूर्वक नलिएको उहाँको आरोप छ ।

अंकारामा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले मस्कोको 'निम्न-स्तर' प्रतिनिधिमण्डलको आलोचना गर्नुभयो । तर रूसी राष्ट्रपति सहयोगी भ्लादिमिर मेडिन्स्कीले क्रेमलिन टोलीमा 'सबै आवश्यक क्षमताहरू' रहेको अडान लिनुभएको छ ।

दिनको सुरूमा, मध्य पूर्वको भ्रमणमा रहेका ट्रम्पले पनि आफू र पुटिनबीच प्रत्यक्ष भेट नभएसम्म शान्ति वार्तामा महत्त्वपूर्ण प्रगति हुने सम्भावना नरहेको बताउनुभएको थियो । ट्रम्पले आज टर्कीमा हुने वार्तामा 'उपयुक्त' भएमा भाग लिने बताउनुभएको छ ।

युरोपेली नेताहरू र युक्रेनले ३० दिने बिना शर्त युद्धविरामको आह्वान गरेपछि भ्लादिमिर पुटिनले १५ मेमा इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको थियो ।