काठमाडौं । मध्यपूर्वका तीन देशको भ्रमणमा निस्किएका अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प आज संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबी पुग्नुभएको छ ।यूएईका राष्ट्रपति शेख मोहम्मद अल नाहयनले विमानस्थलमै पुगेर ट्रम्पको स्वागत गर्नुभयो ।
साउदी अरब र कतारको भ्रमण सक्दै ट्रम्प यूएई पुग्नुभएको हो । यस अवधिमा अमेरिका र ती देशबीच अर्बौं डलरका सम्झौता भएका छन् । आजै दोहामा अमेरिका र कतारबीच रक्षा, ऊर्जा लगायतका क्षेत्रमा लगानी सम्झौतामा हस्ताक्षर भएको र यसबाट कम्तीमा १२ खर्ब डलर बराबरको आर्थिक आदान प्रदान सिर्जना हुने ह्वाइट हाउसले जनाएको छ ।
यी सम्झौतामा राष्ट्रिय ध्वजावाहक कतार एअरवेजले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग १६० वटा वाइडबडी विमान खरिद गर्नेसम्बन्धी ९६ अर्ब डलरको सम्झौताका साथै कतारको अल उदेइद हवाई अखडा र अन्य हवाई रक्षा क्षमता वृद्धिसम्बन्धी ३८ अर्ब डलरको सम्झौता रहेको जनाइएको छ । कतारले बोइङसँग थप ५० विमान खरिद गर्ने विकल्प पनि खुला राखेको समाचारमा जनाइएको छ ।
यो बोइङको इतिहासको सबैभन्दा ठूलो खरिद आदेश हो । युरोपेली विमान निर्माण कम्पनी एअरबससँग प्रतिस्पर्धामा रहेको बोइङका लागि यो ठूलो आर्थिक सफलता समेत हो ।
यसअघि ट्रम्प साउदी अरबमा रहँदा साउदीले अमेरिकासँग १४२ अर्ब डलरको हतियार खरिद सम्झौता गर्नुका साथै अमेरिकामा थप ६ सय अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो ।
ट्रम्पकै भ्रमणका क्रममा यूएईले पनि अमेरिकासँग एआई चिप्स खरिदसम्बन्धी अर्बौं डलरको सम्झौता गर्ने अपेक्षा गरिएको छ ।
आफ्नो व्यापारिक सम्झौता केन्द्रित यो भ्रमणबाट ट्रम्पले अमेरिका र मध्यपूर्वबीचको सम्बन्धलाई नयाँ स्वरूप दिएको सीएनएनले टिप्पणी गरेको छ ।